विराटनगर । संक्रमण दर बढेसँगै कोरोनाको तेस्रो लहर आउन सक्दै भन्दै विज्ञहरूले सचेत रहन आग्रह गर्दै आएका छन् । पछिल्लो समय नेपालमा संक्रमणसँगै मृतकको संख्यासमेत बढ्दै गएको छ । कोरोना बढे पनि आमसर्वसाधारणले अझै मास्क नलगाई हिंड्ने गरेको पाइएको छ । पढेलेखेका र शिक्षित वर्ग नै मास्क नलगाई हिंड्ने गरेको देखिन्छ । त्यसैलाई मध्यनजर गर्दै विराटनगरका केही संघसंस्थाहरूले मास्क वितरण अभियानलाई तीव्रता दिएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसका कारण नेपालमा साढे १० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । देशभर सक्रिय संक्रमितको संख्या पनि हरेक दिन बढ्दै गएको छ । आइतबारसम्म देशभर झण्डै ४० हजारको हाराहारीमा पुगिसकेको छ सक्रिय संक्रमितको संख्या । यसले गर्दा कोरोनाको जोखिम बढ्दै गएको छ । कोरोनाको संक्रमण बढे पनि स्वास्थ्य सावधान भने आमसर्वसाधारणले अपनाएको पाइँदैन । सरकारले स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्न सार्वजनिक रुपमै सूचना जारी गरे पनि आमसर्वसाधारण मास्क नै नलगाई निस्फिक्री हिंडडुल गर्ने गरेको पाइन्छ । प्रदेश राजधानी विराटनगरमा कोरोनाको संक्रमण फैलिँदै गएको छ । तर, आमसर्वसाधारण भने मास्क नलगाई हिंडिरहेका छन् । अनिवार्य रुपमा मास्क लगाउन आग्रह गर्दै विराटनगरका विभिन्न संघसंस्थाले मास्क वितरणलाई तीव्रता दिएका छन् । तपाईंको मास्क खोई भन्दै महानगरका विभिन्न स्थानमा पुगेर एलपी ग्यास विक्रेता संघ मोरङ, नेपाल सोनार समाज समिति र जिल्ला ट्राफीक कार्यालय मोरङले यात्रुहरूलाई निःशुल्क मास्क वितरण गरिरहेका छन् । कोरोनाको जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई मास्क प्रदान गरिएको नेपाल सोनार समाज समिति विराटनगरका अध्यक्ष महेशकुमार साहले बताए ।
सचेतनाका लागि सर्वसाधारणलाई निःशुल्क मास्क, वितरण गरेको साहले बताए । रानी, हाटखोला, बरगाछीलगायतका बढी मानिसको आवतजावत हुने स्थानमा पुगेर मास्क वितरण गरिएको एल.पि. ग्यास विक्रेता संघ मोरङका अध्यक्ष गणेश साहले जानकारी दिए । विभिन्न नाकाबाट सर्वसाधरण मास्क बिनै आवत जावत गर्ने गरेको पाइएको उनले बताए । एउटै मास्क पटक–पटक प्रयोग गर्दा कोरोनाको जोखिम न्यूनीकरण नहुने भएकाले सबै यात्रुलाई निःशुल्क रुपमा मास्क वितरण गरिएको अध्यक्ष साहले बताए ।
संक्रमणबाट सुरक्षित रहन नियमित रुपमा निःशुल्क मास्क वितरण अभियान सञ्चालन गरिएको उनको भनाइ छ । एक हप्तासम्म सर्वसाधारणलाई निःशुल्क मास्क, वितरण गर्ने उनले जानकारी दिए । सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गर्नु निकै नै प्रशंसनीय कार्य भएको स्थानीयको प्रक्रिया छ । तपाईंको मास्क खोई भन्दै निःशुल्क मास्क वितरण अभियानमा आफूहरू समेत सहयोग गर्ने उनिहरूले बताए ।
Post Views: 237