महानगरले विद्यालयलाई ५० प्रतिशत मात्रै शुल्क लिनु भनेर सुचना निकाल्नु गलत भएको पुर्वाञ्चल विद्या सदन सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले बताए । यो महानगरले अभिभावक र विद्यार्थीको मन जित्नको लागि गरेको प्रोपोगाण्डा मात्र भएको उनले बताए । तीन दशक देखि शिक्षण पेसामा आवद्ध श्रेष्ठसँग कोरोना महामारीले शिक्षा क्षेत्रमा पारेको प्रभाव लगायतका विषयमा राष्ट्रिय डेलीका लागि कटवाल दीपकले गरेको कुराकानीको संम्पादित अंश प्रस्तुत गरेका छौँ ।
१. कोरोना माहामारीको प्रभावका बिच वर्तमानमा शिक्षालाई कसरी डोर्याउन सकिन्छ ?
गत वर्षदेखि नै कोरोनाको महामारीले विद्यालयलाई घाइते अवस्थामा पुर्याएको थियो । अहिले कोमामा पुर्याउने अवस्था रहेको छ । त्यस्तो हुँदाहुँदै पनि शिक्षक, विद्याथी, अभिभावकको सहयोगले गर्दा जेनतेन विद्यालय चलिरहेका छन् । यस्तै अवस्था लामो समयसम्म रहने हो भने धेरै विद्यालयहरू बन्द हुने अवस्थामा पुग्छन् । अझै पनि झण्डै नेपाल भरिमा १ हजार विद्यालयहरू प्रभावित भएको भन्ने थाहा पाएका छौँ । यस्तो अवस्था रहिरहने हो भने थोरै मात्र विद्यालय चल्न सक्छन् ।
२. इन्टरनेटको पहुँच बाहिरका बिद्यार्थीहरू जो अनलाइन कक्षा लिन पाइरहेका छैनन्, उनिहरूलाई कसरी शिक्षण पेशामा निरन्तरता दिन सकिन्छ ?
इन्टरनेटको पहुँचमा धेरै विद्यार्थी छैनन् । अहिले २० देखि २५ प्रतिशत विद्यार्थी मात्रै इन्टरनेटको पँहुचमा छन् । उनिहरूले अनलाइन कक्षाबाट अध्ययन गरिरहेका छन् । बाँकी ७० देखि ७५ प्रतिशत विद्यार्थीहरू अझै पनि अनलाइन कक्षाबाट बंचित छन् । अब उनिहरूलाई सरकारले पनि नेपाल टेलिभिजन र रेडियो नेपालबाट, यस्तै अन्य टेलिभिजन र रेडियोबाट कक्षा संचालन गरिरहेको छ । यस्तै पाठ्यपुस्तक वितरण गरेर र स्वअध्ययन पुस्तिकाहरू पनि वितरण गरेर विद्यार्थीहरूलाई अध्ययनमा सक्रिय बनाउनका लागि लागि परिरहेको छ । यस्तै प्याब्सन, एन–प्याब्सन लगायतका संस्थाहरू पनि आ–आफ्नो पक्षबाट विद्यार्थीलाई कसरी सिकाइ क्रियाकलापमा अगाडी बढाउन सकिन्छ भनेर लागिपरिरहेका छन् ।
३. भर्चुअल कक्षा प्रत्यक्ष कक्षा जस्तो प्रभावकारी कसरी बनाउन सकिन्छ ?
वर्तमान अवस्थामा भर्चुअल कक्षा भौतिक कक्षा जस्तो भइरहेको छैन । किनभने विद्यार्थीहरू बानी नै परेका छैनन् । तर, विस्तारै बानी पर्दै गइरहेका छन् । भचुअल कक्षालाई पनि भौतिक उपस्थितिमै लिएको कक्षा जस्तो बनाउनका लागि विभिन्न प्रविधिको सहि तरिकाले शिक्षकले प्रयोग गरेर विद्यार्थीलाई शिक्षणप्रति आकर्षित गरेर अगाडी बढाउन सक्नुहुन्छ । अब भौतिक जस्तै त नहोला र पनि केहिनकेहि गत वर्षको भन्दा यो वर्ष अलिकति राम्रो भएको छ र विद्यार्थी यसमा बानी पर्दै गएका छन् । विकसित देशहरूको लागि यो नौलो नभएपनि नेपालका लागि भने यो नौलो नै छ । भौतिक कक्षामा शिक्षकको निगरानी हुने भएकाले भौतिक कक्षानै प्रभावकारी हुन्छ । तर जो प्रविधिको राम्रो सदुपयोग गर्न सक्छ उनिहरूले गुगलमा गएर आफुले अध्ययन गर्ने सामग्रीहरू आफैँ खोजेर पनि पढेको पाइन्छ ।
४. वर्तमान समयमा आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीहरूको शिक्षामा निरन्तरता दिन हिसान र प्याब्सन जस्ता संस्थाहरूले कस्तो भुमिका निर्वाह गर्न सक्छन ?
अहिले सबै क्षेत्रमा काम गर्ने मानिसको आर्थिक अवस्था कमजोर भएको छ । उनिहरूको जुन कमाउने ठाउँ हो, त्यो बन्द छ । यो कुरा हामीलाई प्रस्ट रूपमा बुझेका छौँ । त्यसैलाई नै मध्यनजर गर्दै अहिले हामी बाचौँ र बचाउँ भन्ने पक्षमा लागेका छौँ । अभिभावक पनि बाँच्नुहोस् र विद्यालय पनि बचाँऔँ भन्ने कुरामा हामी अगाडी बढिरहेका छौँ ।
५. महानगरले ५० प्रतिशत मात्र शुल्क लिन भनेको छ । यो कार्यान्वयन हुन सक्छ ?
महानगरले जुन ५० प्रतिशत मात्रै शुल्क लिन भनेर सुचना निकाल्यो, यो उहाँहरूले अभिभावक, विद्यार्थीको मन जित्नको लागि गरेको यो प्रोपोगाण्डा हो । यसमा सरोकारवालासँग प्याब्सन, एन–प्याब्सन, हिसान लगायतका संस्था अभिभावक, विद्यार्थी सबैलाई छलफलमा राखेर कसरी अगाडी बढ्न सकिन्छ भनेर निर्णय निकालेको भए त्यो लागु हुन सक्थ्यो । एकपक्ष ढङ्गले तैँले यसो गर भनेर निर्देशन दिएको छ, त्यो लागु हुन्छ जस्तो मलाई लाग्दैन । सरोकारवालासँग छलफल भएको भए लागुहुन सक्थ्यो । यो लागुहुन सक्दैन हामीले विरोध गरिरहेका छौँ । हुन त अहिले हामीले ५० प्रतिशत शुल्क पनि विद्यार्थीबाट उठाएका छैनौँ । हामीले अभिभावकसँग सल्लाह गरेर नै शुल्क उठाइरहेका छौँ । यस्तो हुँदाहुँदै पनि महानगरले यस्तो निर्देशन दिनु गलत हो । ५० प्रतिशत शुल्क लिई भन्ने महानगरले आफुले लिने करमा कति प्रतिशत छुट दियो ? जहाँ हामी केही वर्ष पहिला ८ सय रुपैँया व्यवसायीक कर तिर्थेऔँ अहिले ९० हजार पुर्याएको छ । उता कर बढाएको बढाई गर्ने, यता विद्यालयलाई ५० प्रतिशत शुल्क लिनु भन्ने, उता शिक्षकलाई पुरा तलब दिनु भन्ने, अनि हामीले के गर्नु ? कति विद्यालयहरू भाडामा चलेको छ, भाडा कति लिने त्यो कुरा पनि महानगरले बोल्नु पर्छ । एक पक्षमात्रै निर्णय गरेर हुँदैन ।
६.पाठ्यक्रम परिवर्तन भएपनि कतिपय विद्यालयले पुरानै पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पठनपाठन गराइरहेको भन्ने सुनिन्छ नी ?
गत वर्षदेखि कक्षा १ र कक्षा ११ मा पाठ्यक्रम परिवर्तन भएको हो । यो वर्ष कक्षा २, ३, ६ र कक्षा १२ को पाठ्यक्रम परिवर्तन भएको छ । २०८० सम्ममा कक्षा १ देखि १२ सम्मकै पाठ्यक्रम परिवर्तन हुन्छ, त्यहि अनुसार पाठ्यपुस्तक प्रकाशित हुन्छ । यो पटक के भयो भने कक्षा २, ३ र ६ को जुन कुरो छ, पाठ्यक्रम विकास केन्द्रले जनक शिक्षा सामग्री बाट प्रकाशन गर्ने पाठ्यपुस्तक ढिलो आउने र निजी प्रकाशनहरूलाई पनि ढिलो पाठ्यपुस्तक छाप्ने अनुमति दिएको कारणले गर्दा समयमा पुस्तक आउन सकेन । जसले गर्दा कतिपय विद्यालयले बाध्य भएर पुरानो पाठ्यपुस्तक प्रयोग गरेको हुन सक्छ । तर, धरै जसो विद्यालयहरूले पाठ्यक्रम अनुसारकै नया पाठ्यपुस्तकहरू नै प्रयोग गरिरहेका छन् । सरकारले लागु गरेको पाठ्यक्रमलाई कुनै निजी विद्यालयले नकार्न सक्दैन ।
Post Views: 270