विराटनगर । विराटनगरका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९० औं पटक रक्तदान गरेका छन् । सोमबार विराट अस्पतालमा उपचारत मोरङ उर्लाबारीका सञ्जय माझीका लागि रक्तदान गरेसँगै उनले रक्तदान गरेको ९० औँ पटक पुगेको छ ।
आइतबार राति उर्लाबारी–४ बरगाछीमा भएको मोटरसाइकल दुर्घटनामा परि अस्पताल भर्ना गरिएका उनको करङ भाँचिएर छातिमा रगत जमेको र शल्यक्रियाका लागि ए पोजेटिभको ताजा रगत आवश्यक भएको डाक्टरले भनेका थिए । त्यसैले ए पोजेटिभ भएका श्रेष्ठले रक्तदान गरेको विरामीका दाजु भोलानाथ माझीले बताए ।
श्रेष्ठले तीन–तीन महिनामा रगतको आवश्यक परेका विरामीलाई दिउँसो राति केही नभनी रगत दिँदै आएका छन् । यसअघि पनि उनले बैशाख १९ गते खोटाङ चिसापानीकी उर्मिला राईका लागि रक्तदान गरेका थिए ।
यस पटक तीन महिना पुग्नसाथ रक्तदान गर्न खोजेपनि कोरोना खोप लगाएको २४ दिनपछि मात्र पाइने भएपछि ढिलो गरी रक्तदान गर्नु परेको उनले बताए । कम्तीमा एक सय पटक रगत दिने रहर रहेको श्रेष्ठले बताए ।
विराटनगरमा १०० पटक भन्दा बढी रगत दिनेमा डाक्टर केएन ठाकुरको कीर्तिमान छ । यस्तै नेपालमा प्रेमसागर कर्मचार्य (काठमाडौं) १६६ पटक र बढी पटक रक्तदान गर्ने नेपालीमा अर्जुन मैनाली छन् ।
हाल अमेरिकामा रहेका मैनालीले आफ्नो रक्तदानको ३४ औं वार्षिकोत्सव मनाउँदै शुक्रबार १९९ पटक रक्तदान गरेका हुन् । यस अवधिमा उनले दिएको रगत ५ सय ९७ जनाको जीवन रक्षाका लागि उपयोग भएको जनाइएको छ ।
Post Views: 42