विराटनगर । अविरल वर्षाका कारण नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन्।वर्षाका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न स्थान डुबानमा परेका छन्। बाढी, पहिरो र डुबानका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो । अहिले स्थानीयको सहयोगमा डुबान क्षेत्रका बासिन्दाको उद्धार कार्य भइरहेको छ ।
वर्षाका कारण आएको बाढीले नवलपुर २३ स्मृति नजिकको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सूचना अधिकारी सिंहका अनुसार बिहीबार राति करिब ९ बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो।
नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाले तत्काल मर्मत गरी सञ्चालन गर्न कठिन रहेको सूचना अधिकारी सिंहले बताए ।