विराटनगर/ प्रदेश–१ को सरकारले मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयलाई एक महिनाभित्र अनलाइन प्रणालीमा लैजाने भएको छ ।
मुख्यमन्त्री भीमप्रसाद आचार्यको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले एक महिनाभित्र मालपोत र यातायात कार्यालयहरूले प्रदान गर्ने सेवा अनलाइन प्रणालीबाट प्रवाह गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री नियुक्त भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सेवाग्राहीको अधिक भीडभाड हुने कार्यालयको सेवा अनलाइनबाट दिने निर्णय गरेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लछुमन तिवारीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले कोरोनाको जोखिम भएका क्षेत्रमा परीक्षणको दायरा बढाउने निर्णय पनि गरेको छ । यस्तै कोरोना व्यवस्थापन तथा नियन्त्रणका लागि प्रभावकारी रुपमा अभियान अघि बढाउन प्रदेश जनसुरक्षा कोषमा १० करोड रुपैयाँ जम्मा गर्न निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
Post Views: 50