विराटनगर/ कोरोना संक्रमणका कारण यस वर्ष पनि विराटनगरको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रालाई खटयात्रामै सीमित गरिएको छ ।
कोरोना संक्रमणलाई ध्यानमा राखेर तामझाम बिना औपचारिकतालाई निरन्तरता दिनेगरी मात्र खट्यात्रा सम्पन्न गरियो । कोभिड संक्रमण नफैलियोस् भन्ने उद्देश्यले औपचारिकता मात्रै पूरा गरेको रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी गराए । अघिल्ला वर्षहरूमा रथयात्रामा सहभागी हुन प्रदेश–१ सहित भारतका बिहार र बंगाल राज्यबाट समेत ठूलो संख्यामा भक्तजनहरू आउने गरेका थिए ।
मंगलबार दिउँसो पौने २ बजे विराटनगर–१ स्थित मन्दिर परिसरबाट खट्यात्रा निकालेको थिए । परम्परागत खटमा राखिएको भगवान श्रीराधाकृष्णको मूर्तिलाई चारचक्के सवारीसाधनबाट महानगपालिकाकोे परिक्रमा गराइएको थियो । खटयात्राले पानीटंकीबाट रोडशेषचोक हुँदै बरगाछी, कञ्चनबारी, राजवंशीचोकबाट पुष्पलालचोक हुँदै फेरि मन्दिर परिसरमा पुगेर समापन भएको आयोजक समितिका उपाध्यक्ष नन्दकिशोर राठीले बताए । वि.सं. १९८८ सालदेखि विराटनगरस्थित श्रीराधाकृष्ण मन्दिरबाट खटयात्रा निकाल्न सुरु गरिएको थियो । जसलाई २०२५ सालबाट रथयात्रामा रुपान्तरण गरिएको थियो ।
Post Views: 9