मोरङ : मोरङको बेलबारीमा निगुरो टिप्न जंगल जाउँ भनेर बालिकालाई बलात्कार गरेको घटना बाहिरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बालिकालाई निगुरो टिप्ने बहानामा बालिकालाई स्थानीय जंगलमा लगेर बलात्कार गरेको घटना बाहिरिएको हो । बेलबारी नगरपालिका ८ का २१ वर्षीय सन्तोष नेपालीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको घटना बाहिरिएको डीएसपी श्रेष्ठले बताए । । पथरीशनिश्चरे नगरपालिका घर भएकी बालिकालाई निगुरो टिप्न जाउँ भन्दै फकाएर जङ्गलमा पुर्याएपछि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
प्रहरीका अनुसार बेलबारीस्थित दिदीको घर आएको समयमा बालिकालाई सोमबार जंगलमा लगेर बलात्कार गरेको खुलेको छ । डीएसपी श्रेष्ठले भने, ‘चिनजान भएपछि नजिकिएका नेपालीले निगुरो टिप्न जाउँ भन्दै फकाएर सामुदायिक वनभित्र लगेर बलात्कार गरेको खुलेको छ, प्रतिकार गर्दा शरीरमा चोट पनि लागेको पाइयो ।’
आफू असुरक्षित भएको भन्दै पीडित परिवार प्रहरीको शरणमा पुगेपछि बलात्कारको घटना बाहिरिएको हो । बलात्कार आरोपित नेपालीलाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरी म्याद थप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।