विराटनगर / नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट सुरु हुँदैछ । केन्द्रमा अझै क्रियाशील सदस्यताको विवाद कायमै छ ।
अझै केही जिल्लाको क्रियाशील विवाद मिल्न बाँकी छ । तर, महाधिवेशन नजिकिँदै जाँदा विभिन्न पदका आकांक्षीहरूको प्रचारले सामाजिक सञ्जाल भरिएको छ । विशेष गरी क्षेत्रीय प्रतिनिधिका रुपमा प्रचार गर्नेहरू धेरै छन् । सकारात्मक पक्ष के छ भने यसरी प्रचार गर्नेहरूमा अधिकांश युवा छन् । राजनैतिक खिचातानीका कारण राजनीतिप्रति युवामा वितृष्णा पैदा भइरहेको अवस्थामा कांग्रेसको महाधिवेशनमा युवाको उपस्थिति बलियो हुनुलाई सकारात्मक रुपमा लिनुपर्छ ।
मोरङ मात्रै होइन देशैभर क्षेत्रीय प्रतिनिधिमा आकांक्षा राख्ने युवाहरू नै बढी छन् । केन्द्रमा ६५ नाघेका नेताहरूले नेतृत्वको दाबी गरिरहँदा वडा अधिवेशनका लागि घोषित उम्मेदवारहरू भने युवा नै छन् । यसरी उम्मेदवार घोषणा गर्नेमा ५० भन्दा मुनिका ८० प्रतिशतभन्दा धेरै छन् । अब पार्टी मात्रै होइन मुलुक पनि युवाले चलाउनुपर्छ,” विराटनगर–१ बाट क्षेत्रीय प्रतिनिधिको उम्मेदवारी सामाजिक सञ्जालमार्फत घोषणा गरेका युवा नवराज काफ्ले भन्छन्, “६५ वर्ष कटेका नेताहरू अब अभिभावक भएर बस्नुपर्छ ।”
काफ्लेकै शब्दमा यसपटक वडादेखि जिल्लासम्म नै युवा नेतृत्व आउने संकेत देखिएको छ । केन्द्रमा पनि दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा उनको जोड छ । विराटनगर–११ बाट वडा सहसचिवमा उम्मेदवारी घोषणा गरेका सीताराम कोइरालाको मत पनि काफ्लेकै जस्तो छ । उनी पनि पार्टीका हरेक तहमा युवा आउनुपर्नेमा जोड दिन्छन् । “अग्रजहरूको त्याग, तपस्या र योगदानकै कारण पार्टी अहिलेको अवस्थासम्म आएको हो, उहाँहरूको योगदानलाई भुल्नुहुँदैन,” उनले थपे, “तर उहाँहरू शीर्ष स्थानमा बसेर युवालाई पार्टी चलाउन दिनुपर्छ । त्यो भनेको अभिभावक हो ।”
प्रविधिको सहज पहुँच भएकाले युवाहरूले प्रचारलाई तीव्रता दिएका छन् । अझ सामाजिक सञ्जाल कांग्रेस उम्मेदवारको प्रचारले भरिएको छ । पार्टीका लागि युवा अगाडि बढाउनु निकै नै सकारात्मक भएको जिल्ला सहसचिवका आकांक्षी सञ्जय मण्डल बताउँछन् । उनले भने, “उत्साह बोकेर आएका युवालाई कतैबाट पनि रोक्ने र छेक्ने काम गर्नुहुँदैन ।” अर्का युवा तेजिन्द्र भट्टराईले पनि ६ महिना अगाडिदेखि नै प्रचारमा लागेको बताए । उनी महानगरका सहसचिवका आकांक्षी हुन् ।
विराटनगर महानगरकै कुरा गर्ने हो भने पनि जो आए पनि युवाहरू नै आउने निश्चित छ । अहिले महानगर सभापतिका लागि दीपक चापागाईं, अरुण न्यौपाने, सन्तोष न्यौपाने, कृष्ण कार्की, प्रकाश दाहाललगायत आकांशी रहेका छन् । उनीहरू सबै युवा नै हुन् । उनीहरूमध्येबाट कांग्रेसको महानगर नेतृत्वमा आउने पक्का छ ।
Post Views: 37