विराटनगर । मोरङमा सवारी दुर्घटना बढ्न थालेको छ । आर्थिक वर्ष २०७७÷७८ मा मोरङमा १ हजार १ सय ३० सवारी दुर्घटना भएका छन् । यो संख्या गत आर्थिक वर्ष ०७६÷७७ को तुलनामा ६ सय ४३ ले बढी हो । यस्तै आर्थिक वर्ष ०७५÷७६ मा ४८४ सवारी दुर्घटना भएका छन् ।
तीन वर्षका तथ्याङ्क विश्लेषण गर्ने हो भने, आर्थिक वर्ष ०७७÷७८ मा मोरङमा सवारी दुर्घटनाको संख्या तेब्बरले बढेको छ । आर्थिक वर्ष ०७७÷७८ मा सवारी दुर्घटनामा परेर १४८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १२० पुरुष, २२ महिला र ६ जना बालबालिका छन् ।
यस्तै उक्त अवधिमा ३५० जना गम्भिर घाइते भएका छन् । जसमा २६३ पुरुष, ५९ महिला र २८ जना बालबालिका छन् । यसैगरी १ हजार ३ सय ५९ जना सामान्य घाइते भएका जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ । ८९४ पुरुष, ३२० महिला र १४५ बालबालिका सामान्य घाइते भएका छन् ।
आर्थिक वर्ष ०७६÷७७ मा ८९ जनाको ज्यान गएको थियो भने आर्थिक वर्ष ०७५÷७६ मा १०५ जनाले ज्यान गुमाएका थिए । तीन वर्षको तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने दुर्घटनामास बैभन्दा बढी मोटरसाइकलको संलग्नता रहेको पाइएको छ ।
आर्थिक वर्ष ०७५÷७६ मा ३८० मोटरसाइकलको संलग्नता पाइएको छ भने आर्थिक वर्ष ०७६÷७७ मा ३७९ मोटरसाइकल दुर्घटनामा संलग्न भएका थिए । आर्थिक वर्ष ०७७÷७८ मा यो संख्या बढेर १ हजार ५६ पुगेको छ ।
विगतका वर्षहरूमा गम्भिर प्रकृतिका दुर्घटनालाई मात्र अभिलेखिकरण गर्ने गरेका कारण दुर्घटनाका घटना आर्थिक वर्ष ०७७÷७८ को तुलनामा कम देखिएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ । ०७७÷७८ मा सबै प्रकारका दुर्घटनालाई अभिलेखिकरण गरेका कारण दुर्घटनाका घटना धेरै देखिएको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख चन्द्र बहादुर खड्काले बताए । पछिल्लो समय सवारीसाधनको संख्या बढेका कारण पनि दुर्घटना बढेको उनले बताए । तीनपाङ्ग्रे सवारी साधनको बृद्धिसँगै ट्राफिक ज्ञानको अभावमा दुर्घटना बढीरहेको उनले बताए । दुर्घटना न्यूनिकरणका लागि विभिन्न सचेतनाका कार्यक्रम भईरहेको खड्काले जानकारी दिए ।
Post Views: 20