काठमाण्डौं । संयुक्त राष्ट्र सङ्घ (यूएन) ले अफगानिस्तानमा छिट्टै खाद्यान्न सङ्कट हुने चेतावनी दिएको छ । अहिले पनि अफगानिस्तानका आधाभन्दा धेरै बालबालिका छाक टार्नकै लागि सङ्घर्ष गरिरहेका राष्ट्र सङ्घले जनाएको छ ।
तालिबानले सत्ता नियन्त्रणमा लिएपछि अफगानिस्तानमा खाद्यवस्तुको मूल्य ५० प्रतिशतभन्दा धेरै बढेको बीबीसीले जनाएको छ ।
तालिबानले युद्धमार्फत सत्ता नियन्त्रणमा लिएर सरकार घोषणा गरेको भोलिपल्ट चीनले मानवीय सहायता र कोरोना भाइरसविरुद्धको सहयोग घोषणा गरेको हो ।
पाकिस्तानले आयोजना गरेको अफगानिस्तानका छिमेकी देशका विदेश मन्त्रीहरूबीचको भर्चुअल छलफलमा चिनियाँ विदेश मन्त्री वाङ यीले अफगानिस्तानलाई तीन करोड १० लाख अमेरिकी डलर बराबरको खाद्यान्नलगायतको सहयोग घोषणा गर्नुभएको ग्लोबल टाइम्सले जनाएको छ ।
यस्तै चीनले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्धको खोप १० लाख मात्रासहित अरू स्वास्थ्य सामग्री पनि सहयोग गर्ने बताएको छ ।