मोरङ : १६ वर्षीया किशोरीलाई मोरङको बूढीगङ्गा गाउँपालिकाको अध्यक्ष बनाइने भएको छ ।
उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसका अवसरमा एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाउने लागिएको हो । उनले मङ्गलबार गाउँपालिका प्रमुखले गर्ने सम्पूर्ण काम गर्नेछिन् ।
स्थानीय सरकार के हो र यसले कसरी काम गर्छभन्ने अनुभूति बालबालिकाहरुलाई दिलाउने उदेश्यले बालिकालाई एक दिने जिम्मेवारी दिएर गाउँपालिका प्रमुख बनाउन लागिएको राष्ट्रिय बालअधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बताए । उनका अनुसार बालबालिकामा नेतृत्व विकासको अभ्यास गराउने र राष्ट्रिय बाल दिवसलाई नेपालमा नै फरक र नवीन रूपमा मनाउने योजना अनुसार कार्यक्रम तय गरिएको हो । भदौ २९ गते गाउँपालिकाको नेतृत्वमा बालबालिका भन्ने कार्यक्रम गर्न लागिएको उनले बताए ।
बूढीगङ्गा गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले राष्ट्रिय बालदिवसका दिन गाउँपालिकाभित्र बसोबास गर्ने एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकारबाहेक साङ्केतिक रुपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार मङ्गलबार बिहान १० बजे गाउँपालिका अध्यक्षबाटै सुस्मिता अध्यक्षका लागि छनोट हुनेछिन् ।
गाउँपालिका अध्यक्षको जिम्मेवारी प्रदान गरिएको प्रमाणपत्र दिएर उनलाई अध्यक्षको पदभार ग्रहण गराइने कार्यक्रम रहेको अधिकारीले बताए ।
Post Views: 40