विराटनगर । मोरङको ग्रामथान गाउपालिकामा रहेको ग्रामथान सेवा संस्थाले सुरक्षाकर्मीलाई सम्मान गरेको छ । मंगलबार विश्व शान्ती दिवसको अवसरमा ६ जना सुरक्षाकर्मीलाई संस्थाले सम्मान गरेको सेवा संस्थाले जनाएको छ । कोरोना महामारीको समयमा उत्कृष्ट कार्य गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।
सम्मानीत हुनेमा ईलाका प्रहरी कार्यालय हरैँचाका इन्चार्ज खगेश्वर खतिवडा, शसस्त्र बेस क्याम्प डङ्ग्राहाका इन्चार्ज सन्तोष बस्नेत रहेका छन् । यस्तै तेतरीया प्रहरी चौकीका इन्चार्ज सुर्य बहादुर कार्की, मोतिपुर प्रहरी चौकीका इन्चार्ज कुमार अधिकारी, झोराहाट प्रहरी चौकीका इन्चार्ज डम्बर प्रसाद अधिकारी र ट्राफिक प्रहरी इन्चार्ज बलिराम खनाल सम्मानित भएका छन् ।
ग्रामथान सेवा संस्थाले कामको उच्च मुल्याङकन गर्दै सम्मान गरेकोमा उत्साहित भएको ईलाका प्रहरी कार्यालय हरैँचाका इन्चार्ज खगेश्वर खतिवडाले बताए । उनले थप उच्च मनोबलका साथ काम गर्न हौसला मिलेको बताए । कार्यक्रममा बोलदै उनले भने, ‘नागरिक बिना बर्दिका प्रहरी हुन्, शान्ती सुरक्षा कायम गर्न नागरिकको जिम्बेवार महत्वपुर्ण हुन्छ ।’ पछिल्लो समय युवा पुस्ता लागुऔषधको दलदलमा फस्ने गरेको र आफ्ना अभिभावकले आफ्नो बच्चा कहाँ जाँदैछ के गर्दैछ भन्ने कुराको ख्याल गर्नुपर्ने उनले बताए ।
ग्रामथान गाउपालिकाका अध्यक्ष शिवनारायण माझीले कोरोना महामारीका समयमा सेवा संस्थाले विभिन्न कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।
२०७५ सालमा स्थापना भएको संस्थाले विभिन्न कार्य गर्दै आएको छ । संस्थाले कोरोनाकालमा प्रहरीसँग समन्वय गरेर सार्वजनिक स्थानमा सेनिटाइजर गर्नका साथै मास्क वितरण गर्ने जस्ता अभियान चलाएको थियो ।