पर्वत । पर्वतमा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ को उत्पादन विगत तीन सातादेखि ठप्प बनेको छ। गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो। युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित यो आयोजना तत्काल मर्मत गर्न नसकिने गरी क्षतविक्षत बनाएकाले उत्पादन सञ्चालन हुन नसकेको आयोजनाले जनाएको छ।
बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायतका संरचनामा क्षति पुगेको छ। विद्युत् उत्पादनगृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो। उक्त आयोजनाको विद्युत्गृहदेखि मोदी सबस्टेशन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावरसमेत पहिराले ढालेको छ।
ढालेको टावर निर्माणमा मात्रै करिब रु डेढ करोड खर्च लाग्ने आयोजना कार्यालयले जनाएको छ। आयोजनाको विद्युत् उत्पादन रोकिँदा दैनिक रु १० देखि ११ लाखको नोक्सान भइरहेको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिए।
Post Views: 38