विराटनगर । उच्च अदालत विराटनगरको गेटमा युवा व्यवसायी कलामसिंह लामामाथि खुकरी प्रहार भएको छ । आइतबार उच्च अदालत विराटनगरको गेटमा ३२ वर्षीय लामामाथि खुकुरी प्रहार भएको हो ।
आज मध्याह्नतिर काभ्रे घरका इँटा व्यवसायीमाथि खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीका अनुसार लामामाथि खुकुरी प्रहार गर्ने विराटनगर–६ रामपुरका २५ वर्षीय बिमल कार्की पक्राउ परेका छन् ।
उनलाई भाग्दै गरेको अवस्थामा कोशी अस्पताल नजिकबाट पक्राउ गरिएको उनले जानकारी दिए । मोरङ प्रहरी प्रवक्ता दीपक श्रेष्ठका अनुसार फरार एक जनाको खोजी कार्य तीव्र पारिएको छ । यद्पि, खुकुरी प्रहार गर्नुको कारण भने खुलेको छैन ।
काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा आइतबार बिहान मात्रै विराटनगर आइपुगेका थिए । मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाले दुई वर्षअघिदेखि लगानी गरेका थिए ।
घाइते लामाको उपचार विराटनगर अस्पतालमा उपचार भइरहेको छ । उनकाे अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
Post Views: 28