सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिकामा जङ्गली स्यालको टोकाइबाट ८ जना घाइते भएका छन् । देवानगन्जका विभिन्न स्थानमा करिब आठ वटा सङ्ख्यामा रहेको स्यालको टोकाइबाट ८ जना घाइते भएका छन् भने गाईबस्तु समेत स्यालको सिकार बनेका छन् ।
देवानगन्ज–६ राजगन्ज सिनुवारी बस्ने रामकिसुन मेहताको सबै गाईलाई स्यालले टोकेर घाइते बनाएको छ । सोही वडाका भिखो मेहता पनि स्यालको टोकाइबाट गम्भीर घाइते भएका छन् ।
देवानगन्जको वडा १,२,३ र ६ मा मध्यहर्षाही, कप्तानगन्ज र बर्जु गाउँपालिकाको चिमडी अमाही बेलहालगायतका स्थानमा स्यालले आतङ्क मच्चाएको छ । स्याउको झुण्ड बस्तीमा पसेका कारण खेतमा काम गर्न जान समेत समस्या भएको राजगन्ज सिनुवारीका किसान राजेन्दर मेहताले बताए ।
देवानगन्ज गाउँपालिकामा मात्रै हालसम्म स्यालको आक्रमणबाट जम्मा आठ जना घाइते भइसकेको स्थानीय किसुनदेव मेहताले बताए । देवानगन्ज वडा १ बस्ने ५५ वर्षीया मजियादेवी मेहता आफ्नै पसलमा बसिरहेको बेला अचानक जङ्गली स्यालले आकमण गरेपछि गम्भीर घाइते भएकी थिइन् ।
सोही ठाउँ बस्ने कारी मेहता, कालिचरण मेहतापनि स्यालको टोकाइबाट गम्भीर घाइते भएका थिए । घाइते भएकाहरूको विराटनगरको कोसी अस्पतालमा उपचार भइरहेको स्थानीय अरूण मेहताले बताए ।
घाइतेहरूलाई भोलि रेबिज बिरूद्धको भ्याक्सिन लगाउन इनरुवा अस्पताल लगिने उनले जानकारी दिए ।
Post Views: 23