आज विश्व मुटु दिवस । हरेक वर्ष सेप्टेम्बर २९ मा विश्वभर यो दिवस मनाउने गरिएको छ । विश्व मुटु दिवसको अवसरमा राष्ट्रिय डेली डटकमले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर माधव विष्टसँग भलाकुसारी गरेको छ । डा. विष्ट विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा आवद्ध छन् । विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा मुटुको जटिल उपचार विधिमध्यको एक मानिने एनजियोप्लास्टीमाको समेत सफल उपचार उनले गरिसकेका छन् ।
विराट मेडिकल कलेजमा उनी कार्यरत भएसंगै मुटु रोग सम्बन्धि सेवा लिन आउने धेरै मुटु रोगिहरुको सफल उपचार गरिसकेका डा. माधव बिष्टले सुपर स्पेसियालिटी सेवा समेत शुरु गरेका छन् । पछिल्लो समय नेपालमा मुटु रोगीको संख्या पनि बढिरहेको छ । यसै सन्दर्भमा विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर माधव विष्टसँग मुटु रोगसँग सम्बन्धित रहेर राष्ट्रिय डेलीका लागि कटवाल दीपकले गरेको कुराकानीको संम्पादित अंश प्रस्तुत गरेका छौँ ।
१. मानिसको पछिल्लो जीवनशैलीले भावि दिनमा पार्नसक्ने स्वास्थ्य समस्याहरू केके हुन सक्लान् ?
पछिल्लो जीवनशैलीले त मानिसको स्वास्थ्यमा धेरै हानी पुर्याइरहेको छ । पहिला मान्छेहरू स्वस्थकर खाना खाने गर्थे । तर पछिल्लो समय मान्छेले खानपिनमा ध्यान दिएको पाईँदैन । अस्वस्थकर खानपिन बढी खानाले भावि दिनमा स्वास्थ्यमा गम्भिर असर पुर्याउने संकेत देखिन्छ ।
२.मुटु रोगबाट बच्न अपनाउनुपर्ने उपायहरू के हुनसक्छन् ?
मुख्य कुरा त दैनिक व्यायाम गर्नुपर्छ । हतार गर्न भएन । मादक पदार्थ, धुम्रपान जस्ता स्वास्थ्यलाई हानी गर्ने चिजहरूको प्रयोग गर्न भएन । जगंफुड्स, तारेको खाना खाने बानी हटाउन पर्यो । सन्तुलित खाना खानुपर्यो । बिहान बेलुका नियमित हिड्न पर्छ ।
३. पछिल्लो समय मुटु रोगीहरूको संख्या घट्दो क्रममा छ की बढिरहेको छ ?
विगतका वर्षको तुलनामा पछिल्लो समय मुटु रोगीको संख्यामा बृद्धि भइरहेको छ । पहिला चेकजाँच गराउनेको संख्या कम मात्रामा थियो । तर पछिल्लो समय नियमित चेकजाँच गराउनेको संख्यामा बृद्धि भएसँगै मुटु रोगीको सँख्या पनि बढीरहेको छ ।
व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्यधिक प्रयोग, अशुद्ध खानेकुरा, तनावपूर्ण जीवनशैलीका कारण मुटुरोगीहरूको संख्या बढीरहेको छ ।
४. हृदयघात कस्तो समस्या हो र यसबाट बच्न के गर्नु पर्छ ?
मुटुलाई रक्तसञ्चार गर्ने नलीहरूमा कुनै अवरोध आएको खण्डमा मुटुको कुनै पनि भागलाई हानी पुर्याउन सक्छ । मानिको जीवन शैलीमा आएको परिवर्तनसँगै सहरी क्षेत्रमा बढी हृदयघातको समस्या दृखिएको छ । नियमीत शारीरिक व्यायाम गर्ने, सन्तुलित खाना खाने, धूमपान, मध्यपान छाड्नाले यसलाई कम गर्न सकिन्छ । यस्तै तनावलाई कम गर्ने, प्रदुषणबाट जोगिनाले पनि यसको जोखिम कम गर्न सकिन्छ ।