भीम कामत मृत्यु प्रकरण : तीन प्रहरी निलम्बन गर्ने तयारी हुँदासमेत प्रहरीले लिएन घटनाको जिम्मा !

भीम कामत मृत्यु प्रकरण : तीन प्रहरी निलम्बन गर्ने तयारी हुँदासमेत प्रहरीले लिएन घटनाको जिम्मा !

 राष्ट्रिय डेली

कटवाल दीपक

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–११ जनपथ मार्गका ३९ वर्षीय भीम कामत वैदेशिक रोजगारका क्रममा मलेसिया बसेर २०७६ सालमा नेपाल फर्किए । आठ वर्ष मलेसिया बसेका उनी नेपाल फर्किएपछि कोभिडका कारण देशमा लकडाउन सुरु भयो । लकडाउनयता उनले जनपथ मार्गमै होटल सञ्चालन गर्न थालेका थिए । होटल राम्रै चलेको थियो । होटल गर्दा श्रीमतीसहित परिवारकै सहयोग पाइरहेका थिए ।

लकडाउनकै समयमा उनको मित्रता राजन खड्का नामक एक व्यक्तिसँग भयो । राजन बसलाइनमा काम गर्थे । लकडाउनका कारण यातायात ठप्प हुँदा राजनले भीमलाई चिया पसलमा थुप्रै काममा सहयोग गर्थे । भीमलाई सहयोग गरेर रिझाउन सफल राजने उनीसँग सफारी किनिदिन आग्रह गरे ।

राजनको आग्रह स्विकार्दै भीमले उनलाई सिटी रिक्सा किनिदिएका थिए । सिटी रिक्सा चलाउन थालेपछि पनि राजनले थुप्रै लफडाहरू गरे कहिले मापसे गरेर मान्छेलाई ठक्कर दिने त कहिले ट्राफिकबाट समातिने । यी सबै झमेला भीमले हेर्थे र उनलाई यसो नगर्न सम्झाउँथे । झमेला धेरै नै आइपर्न थालेपछि भीमले चेतावनीस्वरूप राजनको सिटी खोसे । पछि पुनः राजनले अबदेखि यसो गर्दिनँ भन्दै सिटी सफारी दिन आग्रह गरेपछि भीमले रिक्सा दिए । तर फेरि उनीहरूबीच पहिलाको जस्तै सम्बन्ध रहन सकेन ।

भदौ १८ गते शुक्रबार एक्कासि प्रहरीको टोली भीमको घरमा पुग्यो । प्रहरीले उनको घरमा खानतलासी गर्दा तीन किलो चार सय ८० ग्राम गाँजा फेला पर्यो । प्रहरीलाई गाँजा देखाउँदै सहयोग गर्नेमा थिए राजन । ‘हामी पनि घरमा गाँजा लुकाएर राखेको देखेर छक्क परेका थियौँ’, भीमका दाइ शम्भु भन्छन्, ‘पहिले कहिलेपनि यस्तो थाहा थिएन । प्रहरीले गाँजा निकाल्दा पनि मैले मेरो भाइलाई गाली गरेँ ।’ भीमको साथी राजनले प्रहरीलाई यहाँ–त्यहाँ भन्दै गाँजा देखाउँदै गर्दा उनको भूमिका आशङ्काजनक रहेको बताउँदै शम्भुले आफ्नो भाइलाई फसाएको हुनसक्ने आशङ्कासमेत गरे । यस्तै, त्यसयता राजनलाई आफूले नदेखेको र प्रहरीलाई जानकारी गराउँदासमेत त्यसतर्फ प्रहरीको ध्यान नगएको उनको आरोप छ ।

गाँजासहित प्रहरीले भीमलाई मात्र समात्यो र प्रहरी हिरासतमा राख्यो । भीममाथि प्रहरीले म्याद थप गरेको थिएन । म्याद थप गर्नुअघि नै उनको भदौ २० गते आइतबार दिउँसो साढे १ बजे प्रहरी हिरासतमै मृत्यु भयो । पक्राउ परेको दुई दिनमै हिरासतमा मृत्यु भएपछि तीन दिनसम्म आफन्त र स्थानीयले प्रहरीको चरम यातनाबाट मृत्यु भएको दाबी गर्दै विद्रोह गरे । मोरङ जिल्ला प्रशासन कार्यालयदेखि विराटनगरका ठाउँ–ठाउँमा टायर बालेर घटनाको सत्यतथ्य अनुसन्धान गर्न दबाब सिर्जना गरे ।

दबाबको पनि करिब एक महिना पुग्न लागेको छ । तर मृतकका परिवारले न्याय पाउन सकेका छैनन् । ‘खै आज २८ दिन भइसक्यो, हामी गरिब–दुःखीका लागि न्याय पनि महँगो साबित भइसकेको छ’, भीमकी श्रीमती यसोदा कामत भन्छिन्, ‘अहिलेसम्म उहाँको मृत्यु रहस्यमै सीमित छ ।’

रहस्यमय मृत्यु, प्रहरीको भूमिका शङ्कास्पद

भदौ २० गते आइतबार दिउँसो साढे १ बजेतिर पुनः प्रहरी भीमको घरमा पुग्यो । भीम बिरामी भएको जनाउँदै प्रहरीले आइसियुमा राख्नपर्ने भएकाले तुरुन्त कोसी अस्पताल जान सुझाव दिए । खाना खाने सुरसारमा रहेको कामत परिवार अत्तालिएर अस्पताल पुगे । तर त्यहाँ पुग्दा भीमको मृत्यु भइसकेको थाहा पाए । ‘उहाँको मृत्यु भएको सुन्दा पत्याउनै सकिनँ’, भीमकी श्रीमती यसोदा भन्छिन्, ‘शनिबार दिउँसो ३ बजेतिर मैले स्वस्थ अवस्थाका श्रीमानलाई भेटेर आएकी थिएँ । मासु–भात खान दिएर एक हजार रूपैयाँसमेत दिएर आएकी थिएँ । भोलिपल्ट नै प्रहरीले बिरामी भएका कारण मर्यो भन्दा कसरी पत्याउँ ?’

भीमका दाइ शम्भुले अघिल्लो दिन नै भाइलाई चरम यातना दिइ मृत्युको मुखमा पुर्याएको आशङ्का गरे । ‘प्रहरीले बिरामी भएर मरेको भन्दै समय जानकारी दिँदा पत्याउन सकिनँ । किनकि उसको शरीर कडा भइसकेको थियो । अनि शरीरैभरि चोट छ ।’ हत्कडीले गर्दा चोट लागेको हो भन्दै प्रहरी पन्छिन खोजेको जनाउँदै उनले प्रश्न गरे, ‘बिरामी मान्छेको शरीरभरि खतैखत कसरी हुन्छन् । फेरि बिरामी भएको अवस्थामा आफन्तलाई जानकारी गराइएन । अनि टाउको, कुम र कोखामा पनि हत्कडी लगाइन्छ ? त्यहाँ त अझ ठुल्ठुला चोट छन् !’

यस्तै उनले भीमलाई झुण्ड्याएर चरम यातना दिइएको हुन सक्ने बताउँदै भने, ‘भीमले लगाएको कपडा पिसाबले भिजेको थियो । कम्मरदेखि माथि चिसो थियो । प्रहरीले कहिले अस्पतालमा मरेको र कहिले अस्पताल ल्याउँदा ल्याउँदै मरेको भनिरहँदा नै प्रष्ट हुन्छ कि घटना शङ्कास्पद छ ।’

यता, प्रहरीले भने आइतबार बिहान एक्कासि बिरामी परेका कारण कोसी अस्पताल ल्याएको र त्यहाँ नै उनको मृत्यु भएको दाबी गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी जर्नादन जिसीले कामतलाई म्याद थपका लागि अदालत लाने क्रममा कामेको तथा मुखबाट फिँजसमेत आएपछि उपचारका लागि कोसी अस्पताल लगिएकोमा त्यहीँ उनको मृत्यु भएको ठोकुवा गरेका थिए ।

तर अस्पताल प्रशासन भने यो मान्न तयार छैन । कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दास प्रहरीले अस्पताल ल्याउनुअघि नै भीमको मृत्यु भइसकेको जनाउँछन् । ‘भीमको मृत्यु पहिले नै भइसकेको देखिन्छ’, उनले भने, ‘यो दिन नै मरेको भन्ने यकिन जानकारी भएन । तर मृत शरीर प्रहरीले अस्पताल ल्याएको थियो । पोस्टमार्टमपछि लगिएको हो ।’

प्रहरीको दानवीय व्यवहारले हिरासतमै मृत्यु

सँगै हिरासतमा रहेका दुई युवाको बयानअनुसार प्रहरीले पक्राउ गरी हिरासतमा हालेकै दिन उनी बिरामी परेका थिए । ‘सोही दिन बेलुका करिब ७ बजेको समयमा उनको मुखबाट फिँज आएको थियो,’ नाम नखुलाउने शर्तमा थुनामुक्त भइरसकेका एक जनाले भने, ‘मुखबाट फिँज आएपछि उनलाई प्रहरीले जुत्ता नाकमा हालेर उठाएका थिए ।’

यस्तै, प्रहरी स्रोतका अनुसार आइतबार बिहान उनी बिरामीजस्तो गरेपछि प्रहरीले हिरासत कक्षबाट बाहिर निकाली हात र खुट्टामा जोडले हत्कडी लगाएका थिए । ‘हिरासत अधिकृतको निर्देशनमा उनलाई हात र खुट्टामा ठुलै अपराधीजस्तो हत्कडी लगाइयो,’ एक प्रहरीले नाम नखोल्ने शर्तमा भने, ‘हुन त मानवता नभएको ठाउँ हो हिरासत कक्ष । हिरासत कक्षभित्र आशंकितलाई समेत प्रमाणित अपराधीजस्तो व्यवहार गरिन्छ ।’

हत्कडी लगाएर राखिएका कामतले मलाई गाह्रो भयो हत्कडी खोल्दिनुस् भनेर हजारौँ पटक आग्रह गरेका थिए । तर उनको कुरा कसैले नसुनेपछि उनले हत्कडी खोल्न हातखुट्टा चलाउन थालेका थिए । उनले हत्कडी खोल्न धेरै अनुरोध गरेपछि प्रहरीले उनलाई हिरासत कक्षबाहिरको एक कुनामा राखिदिएका थिए । अनेकन प्रयासपछि पनि हत्कडी खुल्न नसकेपछि उनले तड्ँिपदै त्यहाँ नै ज्यान गुमाएका हुन् । मृत्यु भएको केही समयपछि प्रहरीले नाटकीय शैलीमा अस्पताल पुर्याएको थियो ।

सिसी टिभी फुटेजमा के छ ?

भीमको मृत्युमा आशङ्का व्यक्त गरेर प्रदर्शनमा उत्रिएका उनका आफन्तहरूले पटक–पटक सिसी टिभी फुटेज हेर्न माग राखेपछि प्रहरी फुटेज देखाउन बाध्य भएको थियो । सिसी टिभी फुटेज हेर्न मृतकका दाजु शम्भुका साथै उनका केही आफन्त पुगेका थिए ।

उनीहरूले फुटेजमा भीमलाई हिरासतभित्र राखिँदै गरेको र सकुसलै निकाल्दै गरेको मात्र देख्न पाए । ‘भीमलाई सकुसल नै निकालिएको देखियो’, शम्भु भन्छन्, ‘तर फुटेज नै इडिट गरिएको जस्तो । केही प्रष्ट नदेखिने । थोरैमात्र देखेँ । भीम सकुसल बाहिर निस्किँदै गरेको । तर उनको शरीरमा लागेको चोट कसरी आयो ? अनि त्यति सकुसल मान्छे कसरी मर्यो ? ’

अस्पतालमा मृत्यु भएको रिपोर्ट बनाउन डाक्टरलाई दबाब

भीम कामतको मृत्युपछि आफन्त र स्थानीयले विरोध प्रदर्शन गर्न थालेपछि प्रहरीलाई दबाब थपिएको थियो । आफ्नो दबाब कम गर्न प्रहरीले कोसी अस्पतालका डाक्टरहरूलाई भीमको मृत्यु अस्पतालमै भएको रिपोर्ट बनाउन दबाब दिएका थिए । प्रहरीले डाक्टर कौसल सिग्देललाई अस्पतालमै मृत्यु भएको रिपोर्ट बनाउन दबाब दिएको अस्पताल स्रोतले जनाएको छ ।

‘बाहिर विरोध सुरु भएपछि प्रहरीले डा. सिग्देललाई अस्पतालमै मरेको रिपोर्टमा साइन गर्न दबाब दिएको थियो,’ अस्पताल स्रोतले भन्यो, ‘तर डाक्टर तयार भएनन् । उनले ठाडै अस्वीकार गरेपछि प्रहरीका एसपी, डिएसपीसहितको टिमले उनलाई दबाब दिन थालेका थिए । तर पनि उनी पछि हटेनन् ।’

यसरी दबाब दिनेमा वडा प्रहरीका डिएसपी दीपक कार्की, मोरङ प्रहरी प्रमुख जनार्दन जिसी र प्रवक्ता डिएसपी दीपक श्रेष्ठ रहेको अस्पताल स्रोत बताउँछ । तथापि, मोरङ प्रहरी प्रमुख जिसीले आफूले दबाब नदिएको जनाउँदै छानबिन समितिको प्रतिवेदनमा दोषी देखिएमा आफू कारवाही भोग्न तयार रहेको सुनाए । यस्तै, वडा प्रहरीका डिएसपी कार्कीले पनि आफूले कुनैपनि डाक्टरलाई दबाब जदिएको जनाए ।

छानबिन समिति भन्छ : रिपोर्ट आएपछि निष्कर्षमा पुग्छौँ

भीमको मृत्युपछि चौतर्फी विरोध प्रदर्शन भएपछि भदौ २१ गते सोमबार नै उक्त प्रकरणको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले सहायक जिल्ला अधिकारी शरदकुमार पोखरेलको नेतृत्वमा गठित समितिमा प्रदेश प्रहरी प्रवक्ता डिएसपी नवीन राई, इन्सपेक्टर, विराटनगर ११ र १२ का वडाध्यक्ष र कामतको घर नजिकका छिमेकी थिए ।

सो समिति पटक–पटक छलफल गरेपनि निष्कर्षमा पुग्न सकेको छैन । भिसेरा रिपोर्टका कारण निष्कर्षमा पुग्न नसकिएको सहायक जिल्ला अधिकारी पोखरेल बताउँछन् । ‘अघिल्लो शुक्रबार पनि यसबारे छलफल भएको थियो, तर छलफल निष्कर्षविहीन बन्यो । रिपोर्टका कारण र केही जनप्रतिनिधिका कारण । उहाँहरूको समय मिल्न मुस्किल छ । अनि भिसेरा रिपोर्ट आएकै छैन । चाँडै नै छलफल डाक्छु ।’

यता, कोसी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट चुमनलाल दासले भिसेरा रिपोर्ट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आउने जनाए । ‘यहाँ सम्भव नभएपछि घोपा पठाएका छौँ । केही दिन अझै लाग्न सक्छ,’ उनले भने ।

तीन प्रहरी निलम्बन गर्ने तयारी  हुँदासमेत प्रहरीले लिएन घटनाको जिम्मा

प्रहरी स्रोतका अनुसार भीम कामत मृत्यु प्रकरणमा मुछिएका तीन प्रहरीलाई निलम्बन गर्ने तयारी थालिएको छ । स्रोतका अनुसार भीमलाई यातना दिने र बिरामी भएको अवस्थामा समेत दानवीय व्यवहार देखाएका प्रहरी हवल्दार ढकबहादुर कार्की, मनोज साह र राजवंशी थर भएका एक जनालाई निलम्बन गर्ने तयारी गरिएको स्रोत बताउँछ ।

यता, मोरङ प्रहरी प्रमुख प्रवक्ता डिएसपी दीपक श्रेष्ठ प्रहरीलाई कारबाही गर्नेबारे आन्तरिक छलफल भइरहेको बताउँदै छानबिन समितिको प्रतिवेदन आएपछि निर्णय लिने बताए । ‘छानबिन समितिले प्रतिवेदन बुझाएपछि यसबारे निर्णय गर्छाैँ’, डिएसपी श्रेष्ठले भने, ‘आन्तरिक छलफल भइरहेको छ ।’

सम्बन्धित समाचार

संखुवासभामा भरुवा बन्दुकसहित पक्राउ

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका(२ का ३० वर्षीय लाक्पा शेर्पालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मकालुबाट खटिएको प्रहरी टोलीले शेर्पाको घर खानतलासी गर्दा कोठाबाट लोड गरेको एक थान भरुवा बन्दुक र...

स्रोत नखुलेको ४७ लाख ४९ हजार नेपाली रुपैंया सहित एक महिला पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका-८ स्थितबाट स्रोत नखुलेको रकमसहित एक जना महिलालाई पक्राउ गरिएको छ । रंगेली नगरपालिका-८ दर्वेशा की ६५ वर्षीया ज्योतिदेवी अग्रवालले घरमा अवैध रकम राखेको छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय...

सिरियाली शरणार्थीहरूलाई फर्काउन टर्कीले सीमा नाका खोल्ने

विराटनगर । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किएले सिरियाली शरणार्थीहरूको स्वेच्छिक र सुरक्षित फिर्ताको सुविधाको लागि दक्षिणी हाते प्रान्तमा सिरियासँगको सीमाना खोल्ने बताएका छन्। टर्कीको राजधानी अंकारामा बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलनमा एर्दोगानले उक्त कुरा...

सरकारका कमजोरी सच्याउन काँग्रेस बोल्नुपर्छ: केदार कार्कि

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी खरो स्वभावका नेता मानिन्छन् । उनी डा। शेखर कोइराला समूहमा पहिल्यैदेखि खुलेर लागेका छन् । मुख्यमन्त्री भएका बेला आफू...

प्रमुख सूचना आयुक्त र आयुक्तहरुको सपथ

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको...

रविलाई आज सातौंपटक अदालतमा उपस्थित गराइँदै

विराटनगर । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज सातौंपटक अदालतमा उपस्थित गराइँदै छ। सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित...

बझाङको रायाल केन्द्रविन्दु भएर गयो भूकम्प

विराटनगर । बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प...

विराटनगरमा रोजगार मेला

विराटनगर । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूलाई जोड्ने उद्देश्यले विराटनगर महानगरपालिकाले दोस्रोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ । महानगरले आगामी पुस १ र २ विराटनगरस्थित वीरेन्द्रसभा दक्षिणमा अवस्थित ‘इको पार्क’मा मेला आयोजना...

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

विराटनगर । २५ मंसिर (मंगलबार) शेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । शेयर बजार ६.३२ अंकले घटेर २,६६९ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको...

शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

विराटनगर। २५ मंसिर मंगलबार शेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । शेयर बजार ६.३२ अंकले घटेर २,६६९ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर...

पत्रकार महासंघ कोशी प्रदेस अध्यक्षमा तीन जनाको उम्मेदवारी

विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको यही मंसिर २८ गते हुने निर्वाचनमा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । सोमबार अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गरेका हुन् । अध्यक्षमा भरत खड्का, विवेक गौतम र...

रविमाथि सरकारले गर्यो अन्याय : डा. सुनिल शर्मा

विराटनगर । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले अन्याय र अमानवीय व्यवहार गरिरहेको बताएका छन्। मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले यस्तो बताएका हुन्। उनले नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसँग...