काठमाडौं । दशैं, तिहारलगायत अरु विभिन्न चाडपर्वहरुमा नयाँ नोटको ठूलो महत्व छ । त्यसैले राष्ट्र बैंकले हरेक वर्ष दशैका लागि भनेर नयाँ नोट सटहीको व्यवस्था मिलाउने गरेको छ । साथै यस्ता चाडपर्वमा नयाँ नोटको जतन गर्न पनि राष्ट्र बैंकले आग्रह गर्दै आएको छ ।
नोट नोक्सानीको भागिदार हुनु दण्डनीय कार्य भनी मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २६३ मा लेखिएको छ । यो दफामा नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा लेख्न नहुुने व्यवस्था छ ।
नोटमा कोर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र ५ हजार रुपैयाँ जरिवाना लाग्ने कानुनी व्यवस्था समेत रहेको छ ।
राष्ट्र बैंकले यसपालि पनि सूचना निकालेर नोटको सुरक्षामा लापर्बाही नगर्न अनुरोध गरेको छ । यस्तो आग्रह गर्नुको खास कारण पनि छ । वास्तवमा नयाँ नोट छाप्दा देशको अरबौ रकम खर्च हुन्छ ।
५, १०, २०, ५० र १०० का नोट छपाउँदा प्रतिनोट औसत १ रुपैयाँ ७० पैसाभन्दा बढी लागत पर्ने राष्ट्र बैंकले जनाएको छ । यसैगरी, ५०० र १००० का नोट छपाउँदा प्रतिनोट सरदर साढे ३ रुपैयाँभन्दा बढी पर्न जान्छ । बर्सेनि यस्तो लागत महँगो हुँदै गइरहेको छ ।
प्रयोगकर्ताले नोटको जतन नगरिदिँदा नयाँ नोट छाप्नुपर्ने हुन्छ । यसरी नोट छाप्न राज्यको धेरै पैसा खर्च हुन्छ । नोटको आयु कति हुन्छ भन्ने ठोस अध्ययन नभएपनि औसतमा ६ वर्षसम्म हुने राष्ट्र बैंकका अधिकारी बताउँछन् ।
त्यसैले नोट जोगाउन विभिन्न उपायहरु अपनाउन सकिन्छ जस्तै, केरमेट नगर्ने, पानीमा नभिजाउने, पोको पारेर वा जथाभावी पट्याएर नराख्ने, स्टिच नगर्ने, पूजा गर्दा तेल वा रङबाट टाढा राख्ने र कसैलाई नोट दिदाँ खाममा हालेर दिए भने जतन हुन्छ ।
Post Views: 37