कटवाल दीपक
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–११ जनपथ मार्गका ३९ वर्षीय भीम कामत वैदेशिक रोजगारका क्रममा मलेसिया बसेर २०७६ सालमा नेपाल फर्किए । आठ वर्ष मलेसिया बसेका उनी नेपाल फर्किएपछि कोभिडका कारण देशमा लकडाउन सुरु भयो । लकडाउनयता उनले जनपथ मार्गमै होटल सञ्चालन गर्न थालेका थिए । होटल राम्रै चलेको थियो । होटल गर्दा श्रीमतीसहित परिवारकै सहयोग पाइरहेका थिए ।
लकडाउनकै समयमा उनको मित्रता राजन खड्का नामक एक व्यक्तिसँग भयो । राजन बसलाइनमा काम गर्थे । लकडाउनका कारण यातायात ठप्प हुँदा राजनले भीमलाई चिया पसलमा थुप्रै काममा सहयोग गर्थे । भीमलाई सहयोग गरेर रिझाउन सफल राजने उनीसँग सफारी किनिदिन आग्रह गरे ।
राजनको आग्रह स्विकार्दै भीमले उनलाई सिटी रिक्सा किनिदिएका थिए । सिटी रिक्सा चलाउन थालेपछि पनि राजनले थुप्रै लफडाहरू गरे कहिले मापसे गरेर मान्छेलाई ठक्कर दिने त कहिले ट्राफिकबाट समातिने । यी सबै झमेला भीमले हेर्थे र उनलाई यसो नगर्न सम्झाउँथे । झमेला धेरै नै आइपर्न थालेपछि भीमले चेतावनीस्वरूप राजनको सिटी खोसे । पछि पुनः राजनले अबदेखि यसो गर्दिनँ भन्दै सिटी सफारी दिन आग्रह गरेपछि भीमले रिक्सा दिए । तर फेरि उनीहरूबीच पहिलाको जस्तै सम्बन्ध रहन सकेन ।
भदौ १८ गते शुक्रबार एक्कासि प्रहरीको टोली भीमको घरमा पुग्यो । प्रहरीले उनको घरमा खानतलासी गर्दा तीन किलो चार सय ८० ग्राम गाँजा फेला पर्यो । प्रहरीलाई गाँजा देखाउँदै सहयोग गर्नेमा थिए राजन । ‘हामी पनि घरमा गाँजा लुकाएर राखेको देखेर छक्क परेका थियौँ’, भीमका दाइ शम्भु भन्छन्, ‘पहिले कहिलेपनि यस्तो थाहा थिएन । प्रहरीले गाँजा निकाल्दा पनि मैले मेरो भाइलाई गाली गरेँ ।’ भीमको साथी राजनले प्रहरीलाई यहाँ–त्यहाँ भन्दै गाँजा देखाउँदै गर्दा उनको भूमिका आशङ्काजनक रहेको बताउँदै शम्भुले आफ्नो भाइलाई फसाएको हुनसक्ने आशङ्कासमेत गरे । यस्तै, त्यसयता राजनलाई आफूले नदेखेको र प्रहरीलाई जानकारी गराउँदासमेत त्यसतर्फ प्रहरीको ध्यान नगएको उनको आरोप छ ।
गाँजासहित प्रहरीले भीमलाई मात्र समात्यो र प्रहरी हिरासतमा राख्यो । भीममाथि प्रहरीले म्याद थप गरेको थिएन । म्याद थप गर्नुअघि नै उनको भदौ २० गते आइतबार दिउँसो साढे १ बजे प्रहरी हिरासतमै मृत्यु भयो । पक्राउ परेको दुई दिनमै हिरासतमा मृत्यु भएपछि तीन दिनसम्म आफन्त र स्थानीयले प्रहरीको चरम यातनाबाट मृत्यु भएको दाबी गर्दै विद्रोह गरे । मोरङ जिल्ला प्रशासन कार्यालयदेखि विराटनगरका ठाउँ–ठाउँमा टायर बालेर घटनाको सत्यतथ्य अनुसन्धान गर्न दबाब सिर्जना गरे ।
दबाबको पनि करिब एक महिना पुग्न लागेको छ । तर मृतकका परिवारले न्याय पाउन सकेका छैनन् । ‘खै आज २८ दिन भइसक्यो, हामी गरिब–दुःखीका लागि न्याय पनि महँगो साबित भइसकेको छ’, भीमकी श्रीमती यसोदा कामत भन्छिन्, ‘अहिलेसम्म उहाँको मृत्यु रहस्यमै सीमित छ ।’
भदौ २० गते आइतबार दिउँसो साढे १ बजेतिर पुनः प्रहरी भीमको घरमा पुग्यो । भीम बिरामी भएको जनाउँदै प्रहरीले आइसियुमा राख्नपर्ने भएकाले तुरुन्त कोसी अस्पताल जान सुझाव दिए । खाना खाने सुरसारमा रहेको कामत परिवार अत्तालिएर अस्पताल पुगे । तर त्यहाँ पुग्दा भीमको मृत्यु भइसकेको थाहा पाए । ‘उहाँको मृत्यु भएको सुन्दा पत्याउनै सकिनँ’, भीमकी श्रीमती यसोदा भन्छिन्, ‘शनिबार दिउँसो ३ बजेतिर मैले स्वस्थ अवस्थाका श्रीमानलाई भेटेर आएकी थिएँ । मासु–भात खान दिएर एक हजार रूपैयाँसमेत दिएर आएकी थिएँ । भोलिपल्ट नै प्रहरीले बिरामी भएका कारण मर्यो भन्दा कसरी पत्याउँ रु’
भीमका दाइ शम्भुले अघिल्लो दिन नै भाइलाई चरम यातना दिइ मृत्युको मुखमा पुर्याएको आशङ्का गरे । ‘प्रहरीले बिरामी भएर मरेको भन्दै समय जानकारी दिँदा पत्याउन सकिनँ । किनकि उसको शरीर कडा भइसकेको थियो । अनि शरीरैभरि चोट छ ।’ हत्कडीले गर्दा चोट लागेको हो भन्दै प्रहरी पन्छिन खोजेको जनाउँदै उनले प्रश्न गरे, ‘बिरामी मान्छेको शरीरभरि खतैखत कसरी हुन्छन् । फेरि बिरामी भएको अवस्थामा आफन्तलाई जानकारी गराइएन । अनि टाउको, कुम र कोखामा पनि हत्कडी लगाइन्छ रु त्यहाँ त अझ ठुल्ठुला चोट छन् १’
यस्तै उनले भीमलाई झुण्ड्याएर चरम यातना दिइएको हुन सक्ने बताउँदै भने, ‘भीमले लगाएको कपडा पिसाबले भिजेको थियो । कम्मरदेखि माथि चिसो थियो । प्रहरीले कहिले अस्पतालमा मरेको र कहिले अस्पताल ल्याउँदा ल्याउँदै मरेको भनिरहँदा नै प्रष्ट हुन्छ कि घटना शङ्कास्पद छ ।’
यता, प्रहरीले भने आइतबार बिहान एक्कासि बिरामी परेका कारण कोसी अस्पताल ल्याएको र त्यहाँ नै उनको मृत्यु भएको दाबी गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी जर्नादन जिसीले कामतलाई म्याद थपका लागि अदालत लाने क्रममा कामेको तथा मुखबाट फिँजसमेत आएपछि उपचारका लागि कोसी अस्पताल लगिएकोमा त्यहीँ उनको मृत्यु भएको ठोकुवा गरेका थिए ।
तर अस्पताल प्रशासन भने यो मान्न तयार छैन । कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दास प्रहरीले अस्पताल ल्याउनुअघि नै भीमको मृत्यु भइसकेको जनाउँछन् । ‘भीमको मृत्यु पहिले नै भइसकेको देखिन्छ’, उनले भने, ‘यो दिन नै मरेको भन्ने यकिन जानकारी भएन । तर मृत शरीर प्रहरीले अस्पताल ल्याएको थियो । पोस्टमार्टमपछि लगिएको हो ।’
अस्पतालमा मृत्यु भएको रिपोर्ट बनाउन डाक्टरलाई प्रहरीको दबाब
भीम कामतको मृत्युपछि आफन्त र स्थानीयले विरोध प्रदर्शन गर्न थालेपछि प्रहरीलाई दबाब थपिएको थियो । आफ्नो दबाब कम गर्न प्रहरीले कोसी अस्पतालका डाक्टरहरूलाई भीमको मृत्यु अस्पतालमै भएको रिपोर्ट बनाउन दबाब दिएका थिए । प्रहरीले डाक्टर कौसल सिग्देललाई अस्पतालमै मृत्यु भएको रिपोर्ट बनाउन दबाब दिएको अस्पताल स्रोतले जनाएको छ ।
‘बाहिर विरोध सुरु भएपछि प्रहरीले डा। सिग्देललाई अस्पतालमै मरेको रिपोर्टमा साइन गर्न दबाब दिएको थियो,’ अस्पताल स्रोतले भन्यो, ‘तर डाक्टर तयार भएनन् । उनले ठाडै अस्वीकार गरेपछि प्रहरीका एसपी, डिएसपीसहितको टिमले उनलाई दबाब दिन थालेका थिए । तर पनि उनी पछि हटेनन् ।’
यसरी दबाब दिनेमा वडा प्रहरीका डिएसपी दीपक कार्की, मोरङ प्रहरी प्रमुख जनार्दन जिसी र प्रवक्ता डिएसपी दीपक श्रेष्ठ रहेको अस्पताल स्रोत बताउँछ । तथापि, मोरङ प्रहरी प्रमुख जिसीले आफूले दबाब नदिएको जनाउँदै छानबिन समितिको प्रतिवेदनमा दोषी देखिएमा आफू कारवाही भोग्न तयार रहेको सुनाए । यस्तै, वडा प्रहरीका डिएसपी कार्कीले पनि आफूले कुनैपनि डाक्टरलाई दबाब जदिएको जनाए ।
एक महिना सम्म पाएनन् कामत परिवारले न्याय
भीमको मृत्युपछि चौतर्फी विरोध प्रदर्शन भएपछि भदौ २१ गते सोमबार नै उक्त प्रकरणको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले सहायक जिल्ला अधिकारी शरदकुमार पोखरेलको नेतृत्वमा गठित समितिमा प्रदेश प्रहरी प्रवक्ता डिएसपी नवीन राई, इन्सपेक्टर, विराटनगर ११ र १२ का वडाध्यक्ष र कामतको घर नजिकका छिमेकी थिए ।
सो समिति पटक–पटक छलफल गरेपनि निष्कर्षमा पुग्न सकेको छैन । भिसेरा रिपोर्टका कारण निष्कर्षमा पुग्न नसकिएको सहायक जिल्ला अधिकारी पोखरेल बताउँछन् । ‘अघिल्लो शुक्रबार पनि यसबारे छलफल भएको थियो, तर छलफल निष्कर्षविहीन बन्यो । रिपोर्टका कारण र केही जनप्रतिनिधिका कारण । उहाँहरूको समय मिल्न मुस्किल छ । अनि भिसेरा रिपोर्ट आएकै छैन । चाँडै नै छलफल डाक्छु ।’
यता, कोसी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट चुमनलाल दासले भिसेरा रिपोर्ट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आउने जनाए । ‘यहाँ सम्भव नभएपछि घोपा पठाएका छौँ । केही दिन अझै लाग्न सक्छ,’ उनले भने ।
भिम कामतको मृत्यु भएको एक महिना भन्दा बढि भइसकेको छ । तर कामत परिवारले अझै न्याय पाउन सकेको छैन, नत दोषीहरुलाइ कारवाही नै भएको छ , नत छानबिन समितिले नै आफ्नो काम गरेको छ ।