महेश भट्टराई
भोजपुर जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बयाङ बजार एक पर्यटकीय र व्यापारीक केन्द्रको रूपमा परिचित छ । साविकको देवानटार – ८ मा रहेको यो बजार हाल आमचोक गाउँपालिका – ६ मा पर्छ । बयाङ बजारले लामो समयपछि बिस्तारै बिस्तारै विकासको गति लिइरहेको छ ।
उच्च स्थानमा अवस्थित रहेको बयाङ बजारबाट हरियाली पहाड, पर्वत, नदिनाला, डाँडाकाँडा, वनजङ्गल आदिको सजिलै अवलोकन गर्न सकिन्छ । यहाँबाट आमचोक गाउँपालिकाको करिब ७० प्रतिशत भू–भाग सजिलै नजरअन्दाज गर्न मिल्छ ।
भोजपुर जिल्लाको सदरमुकाम, सदरमुकाम भन्दा बाहिरका स्थान, उदयपुर जिल्लाका धेरै स्थानहरू, धनकुटा जिल्लाका स्थानहरू यहाँबाट सजिलै अवलोकन गर्न सकिन्छ । यहाँ विभिन्न ठाउँका मानिसहरू घुम्न, यो ठाउँको अवलोकन गर्न, मनोरञ्जन गर्न आउने भएकाले आन्तरिक पर्यटकको मुख्य केन्द्र बनेको छ ।
यो बजार पावला, देवानटार, पांन्चा, दिङ्लापुक, दुम्माना, बालंखा, यूँ, थिन्दिङ्खा, वाशिङ्ग, गोगने, पसल भञ्ज्याङ आदि ठाउँको व्यापारीक केन्द्र हो । कुनै पनि स्थानीय वस्तुको बिक्रिवितरण यहिँबाट हुन्छ । हरेक हप्ताको बुधबारका दिन यहाँहाट बजार लाग्ने गर्दछ ।
केहि वर्ष अघिसम्म यस ठाउँलाई भोजपुरको दक्षिणी भेगको विकट बजारका रूपमा हेर्ने गरिन्थ्यो । तर आज यो विकसित बजारका रूपमा चिनिन पुगेको छ । यो शैक्षिक केन्द्र पनि हो । यहाँ टाढा टाढाबाट उच्च शिक्षा लिन आउने विद्यार्थीहरूको चहलपहल देखिन्छ ।
भोजपुरको दक्षिण पश्चिम भेगको चर्चित एक मात्रै मावि शैक्षिक संस्था शिक्षा क्षमाकन्या उच्च माविले आज मात्रै होइन हिजोको इतिहास समेत बोकेको छ । यो विद्यालय वि.स.२०३९ सालमा स्थापना भई हालसम्म लाखौंलाखलाई ज्ञान बाँड्न सफल भएको छ ।
शिक्षा क्षमाकन्या मा.वि. बयाङमा हाल प्राविधिक धार तर्फको बालीविज्ञान समेतको विषय पढाइ हुने गरेको छ । शैक्षिक हबको रूपमा विकास भइरहेको बयाङ एसईई परीक्षा र प्लस टु तर्फको परीक्षा केन्द्र समेत हो । यो विद्यालयले धेरैको मन जित्न सफल भएकै कारणले गर्दा धेरैको रोजाईमा पर्ने गरेको यसै विद्यालयका पूर्व प्रधानध्यापक अर्जुन नेपालले बताए ।
टेलिफोन, बिजुली, नेट, खानेपानी, सडक, शैक्षिक संस्था, सहकारी संस्था, बैंक, कुटानी पिसानीका लागि मिल आदि सुविधाको अहिले यो बजारमा कुनै कमी छैन । शान्ति सुरक्षाका लागि बयाङ चौकी तीन दशक अघि देखि नै कायम छ ।
समथर भूभागमा फैलिएको बयाङ बजारको पूर्व – पश्चिम बनोट समथर र दक्षिण– उत्तर ओरालो, भिरालो रहेको छ । पूर्वमा घोरेटार नजिकै र पश्चिममा खोटाङको सिमानासम्म पूर्व – पश्चिम भूभाग समथर फैलिएको छ ।
बयाङ बजार यातायातको केन्द्र बिन्दु समेत हो । घोरेटार, बालंखा सडक खण्डको करिब बीचमा रहेको हुँदा यहीँ मार्ग हुँदै गन्तव्यमा पुग्न सकिन्छ । यहाँबाट पूर्व – पश्चिम र उत्तर – दक्षिण जाने बाटाहरू छुट्ने गर्दछन ।
Post Views: 31