विराटनगर । आगामी ४ मसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक पदबाहेक कुनै सरकारी कोषबाट आर्थिक लाभ लिएका व्यक्ति उम्मेदवार बन्न नपाउने भएका छन् ।
आयोगले असोज २३ गते आइतबारका लागि मनोनयन दर्ताको मिति तोकेको छ ।
मनोनयनको मिति नजिकिएसँगै आयोगले उम्मेदवार हुन चाहनेको योग्यताबारे जानकारी गराएको छ ।
आयोगका अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आयोगले निर्धारण गरेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ बमोजिम कुनै व्यक्ति निर्वाचनमा उमेदवारको योग्यता पुगेको हुनुपर्छ ।
उम्मेदवार बन्न योग्य हुने अवस्था
क. नेपालको नागरिक,
ख .प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको,
ग. पच्चिस वर्ष उमेर पूरा भएको,
घ .कुनै सङ्घीय कानूनले अयोग्य नभएको र
ङ .कुनै लाभको पदमा बहाल नरहेको ।
मनोनयनपत्र दर्ता भएको कुनै उमेदवार अयोग्य भएमा अन्य कुनै उमेदवार वा निजको प्रतिनिधिलाई लागेमा सो विषयमा स्पष्ट प्रमाणसहित सम्बन्धित निर्वाचन अधिकृत समक्ष उजुरी दिन सकिने जनाइएको छ ।