कतारमा जारी फिफा विश्वकपअन्तर्गत आजदेखि ‘म्याच विक टु’ का खेलहरु हुँदैछन् । ब्राजिल र सर्बियाबीचको खेलसँगै सहभागी ३२ वटै राष्ट्रले एक– एक खेल खेलिसकेका छन् ।
आज समूह ए र समूह बीका दुई– दुई टोलीले दोस्रो खेल खेल्नेछन् । नेदरल्याण्ड्स, इक्वेडर र इंग्ल्याण्ड लगातार दोस्रो जित निकाल्दै नकआउट चरणको नजिक पुग्ने लक्ष्यमा हुनेछ । यी तीनै टिमले आफ्नो पहिलो खेल जितेका थिए ।
समूह एमा रहेका नेदरल्याण्ड्स र इक्वेडर तथा कतार र सेनेगलबीच खेल हुनेछ । समूह बीमा रहेका इंग्ल्याण्ड र अमेरिका तथा वेल्स र इरानबीचको खेल पनि आजै छ ।
आजको पहिलो खेल वेल्स र इरानबीच दिउँसो पौने ४ बजे अहमद अली बिन स्टेडियममा सुरु हुनेछ । पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको वेल्स र इंग्ल्याण्डसँग पराजित भएको इरान पहिलो जितको खोजीमा छ ।
समूह एमा रहेको घरेलु टोली कतारले सेनेगलसँग आफ्नो दोस्रो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार पौने ७ बजे अल थुमामा स्टेडियममा सुरु हुनेछ । कतार उद्घाटन खेलमा इक्वेडरसँग र सेनेगल नेदरल्याण्ड्ससँग समान २– ० ले पराजित भएका थिए । त्यसैले दुवै टोली पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ ।
समूह ए कै नेदरल्याण्ड्स र इक्वेडर लगातार दोस्रो जितको लक्ष्यसहित राति पौने १० बजे प्रतिस्पर्धामा उत्रिनेछन् । यो खेल खालिफा इन्टरनेसनल स्टेडियममा हुनेछ । नेदरल्याण्ड्स र इक्वेडर दुवैले पहिलो खेलमा क्लिनसिट राख्दै जित निकालेका थिए । दुवै टोली त्यही लयलाई निरन्तरता दिन चाहन्छ ।
यसैगरी मध्यराति पौने १ बजे इंग्ल्याण्डले अमेरिकासँग खेल्दैछ । यो खेल अल बायत स्टेडियममा हुनेछ । इंग्ल्याण्डले पहिलो खेलमा इरान विरुद्ध ६–२ को जित निकालेको थियो । अमेरिकाले भने वेल्ससँग अंक बाँडेको थियो ।
Post Views: 1