काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट) सुरु भएको छ। काठमाडौँ, थापागाउँस्थित मण्डला थिएटरमा नाटक महोत्सव आयोजना गरिएको हो।
मंसिर १७ सम्म चल्ने महोत्सवमा १३ देशका १८ नाटक देखाइनेछन्। नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, अमेरिका, उरुग्वे, कम्बोडिया र अर्जेन्टिनाका नाट्य समूह सहभागी हुनेछन्। नाटक प्रस्तुतिसँगै विभिन्न तालिम, सेमिनार, कार्यशालालगायत पनि हुनेछन्।
महोत्सव उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले कलासाहित्य विभिन्न जातजातिको पहिचान बोकेको बताए। ‘विभिन्न देशको संस्कृति आदानप्रदानमा कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ,’ उनले भने, ‘कूटनीतिक रूपमा रहेका सम्बन्धलाई मानवीय रूप दिन पनि कला–साहित्यले सहयोग गर्छ।’
काठमाडौँ, महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले नाटक महोत्सवका माध्यमले कलाको प्रवद्र्धन गर्नुपर्ने बताए। ‘कलाका सबै विधाको विकास र प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने, ‘त्यसमा अझै पनि धेरै काम गर्न बाँकी छ।’
अवस्थाअनुसार कलालाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए। ‘सम्पन्न भएपछि मात्र कलाको प्रवर्द्धन गर्नुपर्छ भन्ने गलत मान्यता अहिले पनि कायमै छ,’ उनले भने, ‘तर हामीले अवस्थाअनुसार कलाको प्रवद्र्धन गर्नुपर्छ। अगाडि बढाउनुपर्छ।’
विविधतामा एकताबाट प्रेरित भएर यस वर्षको नारा ‘सामाजिक रूपान्तरणको लागि रंगमञ्च विविधिताको उत्सव’ राखिएको सिर्जना सुब्बाले बताइन्।
‘विविधतामा जोड दिँदै त्यहीअनुसार नाटक र तिनका विषय छनोट गरिएका छन्,’ उनले भनिन्, ‘महोत्सवमा सामाजिक रूपान्तरणदेखि जलवायु परिवर्तनसम्मको विषय समेटिएका छन्।’
महोत्सवमा पहिलो दिन दिया मास्केको निर्देशनमा बनेको नाटक ‘कथा कस्तुरी’ मञ्चन गरिनेछ।
Post Views: 0