विराटनगर । नेपथ्य ब्यान्ड देशव्यापी सांगीतिक यात्राका लागि देश दौडाहामा निस्किँदै छ। देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य काठमाडौंबाट बाहिरिने भएको हो।
‘आ–आफ्ना विचार, आस्था र मान्यताले गर्दा चुनावमा स्वाभाविक तवरले जताततै मतान्तरका घेरा कोरिएको हुनुपर्छ,’ एक महिना लामो सांगीतिक देश दौडाहामा निस्कनुअघि नेपथ्य ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ लख काट्छन्, ‘अब फेरि सिंगो समाज एउटै सूत्रमा गाँसिनु जरुरी छ, जसलाई संगीतले मद्दत गर्न सक्छ।’
अमृतका अनुसार मुलुक सशस्त्र द्वन्द्वमा फसेका बेला नेपथ्य ब्यान्डले ‘सुन्दर शान्त नेपाल’ र ‘शान्तिका लागि शिक्षा’ जस्ता अभियान चलाएको थियो। त्यस अभियानले भयावह स्थितिमा पनि समाजलाई जोड्न मद्दत गर्छ भन्ने अनुभव उनलाई दिएको थियो। ‘अघिल्ला दिन हामीले जताततै पार्टीका झन्डा देख्यौं,’ अमृत थप्छन्, ‘यो साताबाट सुरु हुने नेपालभरको सांगीतिक यात्रामा सबै दर्शक चन्द्र सूर्यको झन्डा बोक्दै नाचेको हेर्न म आतुर छु।’
ब्यान्डको पहिलो प्रस्तुति १६ मंसिरमा विराटनगरमा हुनेछ। त्यसपछि क्रमशः पश्चिमतर्फ लाग्ने नेपथ्य टोलीले अन्तिममा काठमाडौं फर्केपछि १६ पुसमा भृकुटीमण्डपमा सांगीतिक प्रस्तुत पस्किएर अभियानको बिट मार्नेछ। यसपाला नेपथ्यले देश दौडाहाका क्रममा सांगीतिक मनोरञ्जनको योजना मात्र बोकेको छैन, मानवताको प्रवद्र्धनका लागि आफूलाई मञ्चमा उभ्याउने अठोट बोकेको छ। नेपथ्यले सडक आश्रित असहायका निम्ति आश्रय थलो उभ्याउन कन्सर्टकै माध्यमबाट सहयोगसमेत जुटाउनेछ।