सुनसरी । इटहरीमा आजदेखि नाटक महोत्सव हुँदैछ ।
दोस्रो अन्तरदेशीय साझा रंगमञ्च २०८०’ को दुईदिनअघि आज शुक्रबार एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरीको आयोजना तथा कलालय इटहरीको सहकार्यमा नाटक प्रस्तुत हुन लागेको हो ।
शुक्रबार बिहान इटहरीमा पत्रकार भेटघाट गरी नाटकबारे जानकारी दिइएको हो ।
शुक्रबार र शनिबार कर्मचारी संगठनको आयोजनामा दिनको ठीक ३ बजे इटहरीस्थित तायारिप्ची भवनमा नाटक प्रस्तुत हुनेछ । यस्तै, आइतबारदेखि तीन दिने ‘दोस्रो अन्तरदेशीय साझा रंगमञ्च २०८०’ को सुरुआत हुने पत्रकार भेटघाटमा जानकारी दिइयो ।
कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीकाअनुसार विश्वेश्वरप्रसाद कोइरालाको कथा ‘शत्रु’लाई नाट्य रूपान्तरण गरी नाटक प्रस्तुत गरिनेछ । शुक्रबार र शनिबार प्रस्तुत हुने यो नाटक कात्तिक २१ गते समापनको दिनपनि प्रस्तुत हुनेछ ।
नाटक महोत्सवमा नेपाल र भारतका रंगकर्मीहरूले नाटक प्रस्तुत गर्नेछन् । कात्तिक १९ गते साँझ ४ बजे ‘कृष्नगर जीवोनेर एकतान पश्चिम बंगाल, भारत’ नाट्य समूहले नाटक ‘एक्टु आगुन दे’ प्रस्तुत गर्नेछ । उक्त नाटक सुभ्रा रोयले निर्देशन गरेका छन् ।
यस्तै, कात्तिक २० गते बिहान ९ बजे ‘कदम थियटर, दमक’ नाट्य समूहले ‘जयमाया आँफू मात्रै लिखापानी आईपुगी’ नाटक प्रस्तुत गर्नेछ । उक्त नाटक जीवन बरालले निर्देशन गरेका छन् । सोही दिन साँझ ४ बजे ‘आरोहण गुरुकुल, विराटनगर’ नाट्य समूहले नाटक ‘नेता जी’ प्रस्तुत गर्नेछ । उक्त नाटक भरत कार्कीले निर्देशन गरेका हुन् ।
यस्तै, कात्तिक २१ गते बिहान ९ बजे र साँझ ४ बजे ‘कलालय इटहरी’ले नाटक ‘शत्रु’ प्रस्तुत गर्नेछ । उक्त नाटक भने प्रज्वल पराजुलीले निर्देशन गरेका छन् ।
यसअघि कलालयकै आयोजनामा कोभिड १९ को संक्रमणअघि पहिलो पटक अन्तरदेशीय नाटक महोत्सवको आयोजना गरिएको थियो । त्यसबेला पनि नेपाल र भारतका एक–एक नाटक मञ्चन गरिएको थियो ।
प्रत्येक वर्ष नाटक मञ्चन गर्ने योजना रहेपनि कोभिडको संक्रमणका कारण लामो समय कार्यक्रम आयोजना गर्न नसकिएको अध्यक्ष जयन्तीले बताए ।
एकीकृत सरकारी कर्मचारी संगठन नेपालका महासचिव प्रकाश राईले कर्मचारी संगठनले पनि समाजमा योगदान पुर्याउनका निम्ति कलाको क्षेत्रमा काम गर्न लागेको बताए । उनले यसअघि कर्मचारी संगठनबाटै सरकारी जागिरेहरूबाट रचित कविताहरू संग्रहित गरी काव्यकुञ्जसमेत प्रकाशन गरेको स्मरण गर्दै यसपटक नाटकमा काम गर्न लागेको बताए ।
‘कर्मचारीलाई जु मा राख्नुपर्ने प्राणीजस्तो सोचिन्छ, त्यसलाई चिर्न र समाजमा सृजनात्मक काम गर्न पनि नाटकमा जोडिएर काम गर्न लागेका हौँ,’ उनले भने, ‘नाटकले धेरै चिज बोक्छ, मान्छेका अभिव्यक्तिसँगै कथा पनि बोक्छ । नाटक भनेको सत्यको अभिव्यक्ति पनि हो ।’
उनले इटहरीमा थियटर भएको भए नाटक गरेरै बाँच्न सकिने अवस्था रहेको बताए । कवि देवान किराँतीले इटहरीमा पछिल्लो समय नाटक व्यवसायीकरण हुँदै गएको सुनाए ।
‘नाटक हेर्नका लागि टिकट काट्नेको संख्या बढ्दो छ, टिकट काटेरै नाटक टिक्न सक्ने अवस्था पनि आइसक्यो,’ उनले भने, ‘इटहरीमा थियटरका लागि जग्गा उपलब्ध भएको अवस्थामा हामीलाई नाटक क्षेत्रमा अझ काम गर्नका निम्ति प्रोत्साहित हुन्थ्यो ।’
कुनैबेला नाटक हेर्नका लागि पटकपटक भन्नुपर्ने भएपनि अहिले भने इटहरीले स्वस्फूर्त रूपमा नाटक हेर्ने उनले बताए ।