विराटनगर । मोरङको बेलबारी नगरपालिकाले बालीसम्बन्धी ज्ञान दिने उद्देश्यले घुम्ती कृषि तालिमको आयोजना गरेको छ ।
नगरपालिकाले बेलबारी–२ लालभित्तीस्थित प्रगति कृषक समूहको प्राङ्गणमा दुईदिने घुम्ती तालिम सञ्चालन गरेको हो । तालिमको समापनमा बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली, २ नम्बर वडा अध्यक्ष घनश्याम गौतम, वडा सदस्य कृष्णबहादुर लिम्बू, नगरपालिकाका कृषि शाखा प्रमुख विनोद दाहाल, त्रिवेणी टोल विकास समितिका अध्यक्ष कुमार सोदेम्बालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपमेयर पराजुलीले कृषि प्रणालीलाई जनस्तरबाटै सुधारको आवश्यकता रहेको बताउँदै नगरपालिका कृषिलाई आधुनिकीकरण गर्ने कार्यमा जुटिरहेको बताइन् । वडा नम्बर २ का अध्यक्ष घनश्याम गौतमले तालिमबाट सिकेका सीपलाई व्यवहारमा परिणत गर्नुपर्नेमा जोड दिए । साथै उनले पछिल्लो समय तालिम तालिमकै लागि मात्र भइरहेको पनि गुनासो गरे ।
सहभागीहरूले तालिमबाट धेरै कुरा सिक्न पाएको, तालिम प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन् । तर उनीहरूले सिंचाइको समस्याका कारण कृषिबाट राम्रो उत्पादन लिन नसकेकोले बन्द रहेको दाताराम पैनी सञ्चालन गरिदिन नगरपालिकासँग आग्रहसमेत गरेका छन् । तालिममा बाली लगाउने तरिका, माटो परीक्षण, जैविक तथा रासायनिक विषादीको प्रयोगका बारेमा सिकाइएको थियो । तालिमको सहजीकरण नगरपालिकाका कृषि शाखाका कर्मचारी, विनोद दाहाल, विशाल सिटौला र निर्मला कोइरालाले गरेका थिए ।
Post Views: 0