विराटनगर । नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ । वाग्लेको मदन पुरस्कार प्राप्त उक्त पुस्तकको नाट्य रूपान्तरण लेखक सुरज सुवेदीले गरेका हुन ।
सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा क्याफे’ को नाट्य रुपान्तरण काठमाडौँ थापागाउँस्थित मण्डला थिएटरमा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सवको क्रममा बुधबार सार्वजनिक गरिएको हो ।
नाट्य रूपान्तरको अनुभव सुनाउँदै सुवेदीले उपन्यास भन्दा अगाडि पुगेर कथा वस्तुलाई नाटकका रूपमा तयार गरिएको जानकारी दिए । “उपन्यासको मर्म कायम राखेर नाटक बनाएका हौँ”, लेखक सुवेदीले भने, “नाट्य रूपान्तरणमा पात्रको संवाद, उपस्थिति पनि बढेको छ । यहाँ द्वन्द्वमा बेपत्ता भएकाको पर्खाइमा रहेका परिवारको माध्यमबाट कथा भनिएको छ ।”