विराटनगर / नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डा. सुनिल शर्मामाथि गरिएको निन्दनीय घटनाप्रति मोरङ कांग्रेसले घोर भत्र्सना गरेको छ । नोवेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका शर्मालाई शुक्रबार काठमाडौंमा केही व्यक्तिले दुव्र्यहारको प्रयास गरेका थिए । नोवेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरुले शुल्कका सम्बन्धमा गरेको विरोधका विषयमा शुक्रबार शिक्षा मन्त्रालयमा छलफल भएको थियो । छलफलबाट निस्कने क्रममा शर्मामाथि केही व्यक्तिले दुव्र्यवहारको प्रयास गरेका थिए ।
शनिबार मोरङ कांग्रेसले विज्ञप्ति निकालेर घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ । “विवाद समाधानका लागि शुक्रबारका दिन सिंहदरबारस्थित छलफल कार्यक्रममा सहभागी भई बाहिर निस्कने क्रममा केही राजनैतिक शक्तिको आडमा नोवेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि डा. सुनिल शर्मामाथि गरिएको निन्दनीय घटनाप्रति नेपाली कांग्रेस मोरङको ध्यानाकर्षण भएको छ,” उपसभापति नागेश कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “यदि मेडिकल कलेजहरुले विद्यार्थी तथा अभिभावबाट अनियमित ढंगबाट शुल्क असुल गरेको भए सम्बन्धित निकायले नियमन तथा कडाभन्दा कडा कारबाही गर्नुपर्दछ । कानुन, लोकतन्त्र र विधिको शासनको अवधारणामा विश्वास राख्ने नेपाली कांग्रेस पार्टीले शुक्रबारको घटनाको घोर भत्र्सना गर्दै गैरकानुनी कार्यप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।”
जिम्मेवार निकायले घटनाको छानबिन गरी संलग्न सम्पूर्ण व्यक्तिलाई कानुनको दायरामा ल्याई कडा कारबाही गर्न कांग्रेसले माग गरेको छ ।
Post Views: 224