विराटनगर । विराटनगरको सत्यनारायण माध्यमिक विद्यालयले ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शनिबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
वार्षिकोत्सवको अवसमा विद्यालयले पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन कुमार श्रेष्ठ, पूर्व प्रधानाध्यापक तुलाराम गुरुङ, निवर्तमान कर्मचारीहरू शिवनारायण मण्डल र रामेश्वर प्रसाद साहलाई सम्मान गरेको थियो । यस्तै विद्यालयले ६ जना अभिभावकलाई पनि सम्मान गरेको थियो ।
यसैगरी विद्यालयले उत्कृष्ट पाँच जना शिक्षक तथा कर्मचारीलाई पनि सम्मान गरेको छ । सम्मानित हुनेमा नेत्र प्रसाद फुँयाल, सौरभ चापागाईँ, सुमित कुमार ठाकुर, संगिता अधिकारी र मन्दिरा घतानी रहेका छन् ।
यसैगरी वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयले एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको थियो । यस्तै कक्षा ११ र १२ को बोर्ड परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई छात्रबृत्ति सहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम गुरागाईँले जानकारी दिए ।
सोही अवसरमा महानगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा गोल्ड मेडल प्राप्त गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको उनले बताए । यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वारा घोषित नियमित विद्यालय आउने तथा अनुशासित ८ जना विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको थियो ।
यस्तै शिक्षक अभिभावक संघका अध्यक्षद्वारा घोषित तीन जना उत्कृष्ट अभिभावकलाई सम्मान गरिएको थियो । विद्यालयका पूर्व प्रधानाध्यापक धर्मानन्द खरेलले सबैभन्दा बढी पुस्तकालयमा गएर पढ्ने एक जना विद्यार्थीलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरेका थिए ।
यसैगरी सोही अवसरमा पूर्व प्रधानाध्यापक तुलाराम गुरुङले प्रत्येक वर्ष विद्यार्थीहरूलाई ४० हजार बराबरको छात्रबृत्ति प्रदान गर्ने घोषणा गरेका छन् । कार्यक्रममा इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थीहरूले हाइड्रोपावर सम्बन्धि प्रर्दशन रोबोट कार रेस र फुटबल प्रर्दशनी गरेका थिए । यस्तै स्वास्थ्यसँग सम्बन्धित प्रर्दशनी पनि विद्यार्थीहरूले राखेका थिए । विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम गुरागाईँले विद्यालयको वार्षिक प्रगति र आगामी योजनाहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिव्यराज कट्टेल, पूर्व प्रधानाध्यापकहरू, पूर्व व्यवस्थापन समितिका अध्यक्षहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, अभिभावक, विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
Post Views: 7