विराटनगर, १३ चैत । घिनाघाट–विराटचोक सडकको निर्माणमा ढिलाई भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले २०७६ भदौमा शिलान्यास गरेको उक्त सडक निर्माणमा ढिलाई हुँदा स्थानियले समस्या झेलिरहेका छन् । वैकल्पिक सडकको रुपमा ४ लेन बनाउने गरि शुरु गरिएको निर्माणकार्य बिभिन्न कारणले रोकिँदै पनि आएको छ । करिव २२ किलोमिटर लम्बाइ रहेको सडक प्रदेश सरकारको १ अर्ब ४० करोड लगानी रहेको छ ।
सडकको शिलान्यास गर्दै मुख्यमन्त्री राईले उक्त सडक निर्माणलाई प्राथमिकतामा राखेर काम अगाडी बढाउने बताएका थिए । सडक निर्माणको अनुगमन, मुल्याङकन र निगरानी पनि गर्ने बताएका थिए । तर मुख्यमन्त्रीले नै सडक निर्माण कार्यमा बोलेजस्तो व्यवहारमा देखाउन सकेका छैनन ।
सम्झौता अनुसार २०७७ साल असार मसान्तमा नै सडक निर्माण कार्य सम्पन्न हुनुपर्ने थियो । तर अहिलेसम्म पुर्णता नपाएको सडकले कहिले पुर्णता पाउँछ भन्ने यकिन छैन् ।
स्वास्थ्यमा असर
उक्त सडकखण्डमा उड्ने अत्यधिक धुलोका कारण मानव स्वास्थ्यमाथि गम्भिर असर परिरहेको छ । सडकमा उड्ने धुलो स्थानियको आँगन, भान्छा देखि ओछ्यान सम्म पुग्ने गरेको छ । धुलोकै कारण स्कुल जाने विद्यार्थी पनि समस्यामा पर्ने गरेका छन् । अत्यधिक धुलोका कारण बाटो हिड्नसक्ने अवस्था नभएको स्थानियको भनाई छ । उक्त सडक छेउछाउमा व्यवसाय गरेर बसेका व्यवसायीहरू धुलोकै कारण व्यापारमा समेत समस्या भएको बताउँछन् ।
सडकमा पानी समेत नलगाएका कारण धुलोले बालबालीका देखि बृद्धबृद्धासम्म सबैलाई असर गरेको झोराहाटका स्थानिय सुरेश कुमार लुईँटेलले बताए । उनले भने, ‘सडकमा पानी मात्रै हालिदिए पनि केही हदसम्म राहत पुग्नेथियो ।’ दिनहुँ टिपर र ट्याक्टर सञ्चालन भैरहने उक्त सडकमा अत्यधिक धुलो उड्ने गरेको छ ।
धुलोकै कारण साना सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको छ । सिटीसफारी चलाउँदै आएका सोहन सरदार भन्छन्, ‘विहान हिडेको मान्छे बेलुका घर पुग्दा धुलाम्मे भइन्छ, स्वास्थ्यमा त थप असर परेकै छ ।’ सडक निर्माण चाँडो भन्दा चाँडो सम्पन्न गर्न प्रदेश सरकारले अग्रसरता देखाउनु पर्ने उनले बताए ।
Post Views: 493