विराटनगर ÷ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ र ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्श बीच भगिनी सम्बन्धका लागि सम्झौता भएको छ ।
भगिनी सम्बन्धमा दुवै पक्षले व्यापारिक समझदारी, व्यापारिक समुदायको कानुनी दायराभित्र रही आपसी सम्बन्ध कायम गर्न सहमति भएको हो । दुवै संस्थाबीच प्रोत्साहन गर्ने, व्यापारिक प्रतिनिधि, विज्ञ, आर्थिक सल्लाह र सुझाव आदानप्रदान गर्ने कार्यलाई प्रोत्साहन गर्ने, आपसी समन्वयमा व्यापार स्थापना गर्ने, विस्तार गर्ने, व्यापारिक अवसरहरू प्रवाह गर्ने, संघका सदस्यहरूबीच आपसमा सहज वातावरण बनाउने, आर्थिक तथा व्यापरिक सूचना एवं तथ्यांक प्रवाह गरी सम्झौता तथा संयुक्त परियोजना सञ्चालन गर्न सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।
यसैगरी आर्थिक एवं व्यापरिक नीति नियम, प्रकाशन, पत्र–पत्रिका एवं व्यापारिक गतिविधिहरू आदानप्रदान गर्ने, व्यापारिक मेला, गोष्ठी, सेमिनार, सम्मेलन तथा अन्य कार्यक्रमहरू आयोजना गर्न सहज वातावरण सिर्जना गर्ने व्यापारिक लेनदेनमा कुनै पनि समस्या देखा परेमा दुवै पक्षको समन्वयमा मध्यस्थता, मेलमिलापको वातावरण सिर्जना गरिने सम्झौतापत्रमा उल्लेख छ ।
सदस्यहरूबीच प्राविधिक विशेषज्ञता, तालिमका अवसरहरूको आदानप्रदान गर्ने लगायतका बुँदाहरूमा सहमति गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र राउत र ग्रेटर चेम्वर अफ कमर्श, न्यूयोर्कका अध्यक्ष मार्क जाफीबीच भएको सम्झौतामा ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्श, न्यूयोर्क, अमेरिकन बिजनेश एफेयर्स अमिरप्रताप साहले हस्ताक्षर गरे ।
ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्श, न्यूयोर्क, अमेरिकाले सेम्टेम्वर २०, २०१९ मा आयोजना गरेको २० औं वार्षिक कन्फरेन्स तथा एक्स्पोमा यस महासंघका उपाध्यक्ष राउत र निवर्तमान अध्यक्ष नरेन्द्रकुमार खड्का सहभागी भएका थिए । सोही समयदेखिको सम्बन्धलाई थप सुमधुर बनाउन भगिनी सम्बन्धमा कायम गरिएकामे महासंघ प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले जानकारी दिए ।
Post Views: 1