विराटनगर । कोसी प्रदेश नामकरण खारेजीको माग राख्दै इटहरीमा आन्दोलन गरिएको छ ।
आइतबार आज इटहरीको मुख्य चौकमै पहिचानबादीहरूले आन्दोलन गरेका हुन् ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार अहिले पूर्व—पश्चिम राजमार्गमा आवतजावत गर्ने सवारी साधानमा समस्या भएको छ । मुख्य चौकमै प्रदर्शनसहित पहिचानको आन्दोलन हुँदा सकस भएको हो ।
‘ठूलो मात्रामा आन्दोलनमा सहभागी संख्या भएका कारण सुरक्षाकर्मी पनि बाक्लो मात्रामा परिचालन गरिएको छ । डीएसपी काफ्लेले भने, ‘उच्छृङ्खल गतिविधि हुन नदिनका लागि हामीले सबै ठाउँमा सुरक्षाकर्मी परिचालन गरेका छौँ ।’
उनका अनुसार धरानबाट इटहरीतर्फ जाने सवारी साधन आँपगाछीबाट पूर्वतर्फ मोडिएका छन् ।
यस्तै, पश्चिमतर्फबाट आएका सवारी साधन भने बसपार्क हुँदै फूलबारी टोलबाट पठाइएको छ । पूर्वबाट इटहरीतर्फ आएका सवारी साधन पनि बूढीखोला नजिकैबाट दक्षिणतर्फ पठाइएको छ ।
सवारी साधन व्यवस्थापनका लागि पनि बाक्लो मात्रामा ट्राफिक प्रहरीहरू परिचालन गरिएको छ ।