विराटनगर । सरकारले कार्यालयीय कामको प्रयोजनमा आवतजावतमा सहजताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सवारी साधनको व्यवस्था गर्छ । यसरी व्यवस्था गरिने सवारी साधन कार्यालयीय प्रयोजनमा बाहेक प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिहरूको सरकारी गाडी दुरूपयोगको शृंखला भने बढिरहेको छ । व्यक्तिगत प्रयोजनमा समेत जनप्रतिनिधिहरूले सरकारी गाडी प्रयोग गरिरहेका छन् ।
कतिपय अवस्थामा जिल्ला प्रशासनको अनुमति लिएर सरकारी गाडी प्रयोग गर्ने अधिकार जनप्रतिनिधिलाई हुन्छ नै । तर, जनतासँग कुनै सरोकार नै नराख्ने सामान्यभन्दा सामान्य नितान्त व्यक्तिगत काममा समेत जनप्रतिनिधिहरू सरकारी गाडीको दुरूपयोग गरिरहेका छन् ।
यसैबीच मोरङको बूढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृताकुमारी गच्छदारले सरकारी गाडी दुरूपयोग गरेको पाइएको छ । बुधबार रामनवमी पर्व मनाइरहिएको छ । सरकारले यस अवसरमा सार्वजनिक बिदा दिएको छ । तर, उपाध्यक्ष गच्छदारले सार्वजनिक बिदाकै दिन सरकारी गाडी दुरूपायोग गरेको पाइएको हो । उनले प्रयोग गर्ने गरेको सरकारी बोलेरो दुरूपयोग भएको हो ।
एक स्थानीयका अनुसार बुधबार उनी उक्त बोलेरो लिएर पूर्व गाउँपालिका अध्यक्ष बालचन्द्र माझीको बूढीगंगा-२ स्थित घरमा गृह प्रवेशका अवसरमा आयोजित पूजामा सहभागी भएकी छन् । यस्तै त्यसपछि सोही गाडी लिएर उनी बूढीगंगा-३ मा रामनवमीका अवसरमा आयोजित र्यालीमा सहभागी भएकी छन् ।
यसबारे बुझ्न हामीले उनलाई फोन सम्पर्क गरेका थियौं । त्यसबखत उनी रामनवमीका अवसरमा आयोजित र्यालीमा सहभागी रहेको उनीतिरबाट आएको भीडको आवाजले संकेत गर्थ्यो । उनले आफू कार्यक्रममा रहेको भन्दै केही बेरपछि सम्पर्क गर्न भनिन् ।
यसलाई थप पुष्टि गर्न हामी जिल्ला प्रशासन कार्यालय, मोरङमा पनि सम्पर्क गर्यौं । हामीले सहायक प्रमुख जिल्ला अधिकारी एवं कार्यालयका सूचना अधिकारी प्रदीप साहलाई सम्पर्क गरेका थियौं । तर, उनले आफू सोमबार साँझ कार्यालय छाडेर मंगलबारदेखि नै बिदामा रहेकाले उपाध्यक्ष गच्छदारले गाडी प्रयोगका लागि अनुमति लिए/नलिएकोबारे जानकारी नरहेको बताए ।
Post Views: 0