काठमाडौँ । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोड रूपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड ५६ लाख ६५ हजार तीन सय ९९ रूपैयाँ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको हो । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरूङले सगरमाथा आरोहणमा उत्साहवर्द्धक रूपमा आरोही आइरहेको बताए ।
उनका अनुसार सगरमाथा आरोहीबाट हालसम्म राजस्वसङ्कलन भइरहेको छ । अघिल्लो वर्षकै हाराहारी रोयल्टी उठ्ने अनुमान गरिएको उनले बताए । विभागले अद्यावधिक गरेको विवरणअनुसार सगरमाथा आरोहणका लागि ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरूष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति पाएका छन् । हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका हुन् ।
निर्देशक गुरूङले आरोहीको सङ्ख्या पनि अघिल्लो वर्षकै हाराहारीमा आउने अपेक्षा गरिएको बताए । अघिल्लो वर्ष हालसम्कै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए । उनीहरूबाट रोयल्टी रकम पनि बढ्ने विभागको अनुमान छ । गत वर्ष ७६ करोड रूपैयाँ रोयल्टी रकम जम्मा भएको थियो । यस वर्ष ५६ करोड रूपैयाँ रोयल्टी उठिसकेको छ । थप पाँचदेखि सात करोड रोयल्टी जम्मा हुने अनुमान गरिएको निर्देशक गुरूङले बताए ।
विभागका अनुसार सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमति बापत् हालसम्म ५६ करोड ४० लाख ३१ हजार एक सय ८१ रूपैयाँ रोयल्टी जम्मा भएको छ । यसमध्यै सगरमाथाबाट सर्वाधिक रोयल्टी उठेको हो । ‘यो यामको सगरमाथा आरोहण उत्साहजनक देखिएको छ, रोयल्टी रकम पनि अघिल्लो वर्षकै हाराहारी हुने विभागको अपेक्षा छ,’ निर्देशक गुरूङले भने, ‘सगरमाथा आरोहीको सङ्ख्या वैशाख ७ गतेसम्म तीन सय ५२ पुगिसकेको छ । अब तीनदेखि चारवटा अनुमति होला, त्यस हिसाबले हेर्दा चार सयभन्दा बढी आरोही पुग्ने देखिन्छ ।’
विभागको विवरणमा सगरमाथापटि ल्होत्से हिमालबाट एक करोड ७२ लाख ५८ हजार नौ सय २२ रूपैयाँ र मकालु हिमालबाट एक करोड ७७ लाख ४८ हजार रूपैयाँ रोयल्टी प्राप्त भएको छ । पर्वतारोहणसम्बन्धी नियमावली २०५९ अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणमा जानेबाट प्रतिव्यक्ति विदेशीलाई ११ लाख रूपैयाँ दस्तुर लाग्छ । नेपालीले ७५ हजार रूपैयाँ तिर्नुपर्छ । विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाख रूपैयाँदेखि एक करोड रूपैयाँसम्म खर्च गर्छन् । मुलुकको पर्यटनको महत्त्वपूर्ण आधार मानिने पर्वतारोहण राजस्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै रोयल्टी उठ्छ ।
वसन्त ऋतु आरोहणका लागि उपयुक्त याम मानिन्छ । यस याममा सगरमाथा आरोहण गर्न विभिन्न मुलुकबाट सर्वाधिक सङ्ख्यामा आरोही आउँछन् । सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले आफ्नो कम्पनीमार्फत यस याममा पनि धेरै सङ्ख्यामा आरोही आएको बताए । वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा पनि बाक्लो सङ्ख्यामा आरोही आइरहेको र यसले नेपालको पर्यटनमा उत्साह जगाएको बताउँछन् ।
सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरि, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका लागि आरोही हिमालतिर लागेका हुन् । यस यामको सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्म बाटो खुलिसकेको विभागले जनाएको छ ।
सगरमाथाको चुचुरोसम्म बाटो खुलाउन शेर्पा आरोही डोरी टाँग्ने (रोप फिक्सिङ)का लागि सगरमाथा क्षेत्रमा खटिएका हुन् । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समितिले बाटो बनाएको छ । यस्तै दोस्रो शिविरदेखि चुचुरोसम्म रोप फिक्सिङ गर्ने जिम्मा सेभेन समिट ट्रेक्सले पाएको छ ।
Post Views: 1