दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ ।
आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई, २५ वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
मृत्यु भएका तीनै जना कमल गाउँपालिका-४, अमलडाँगीका भएको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १-००१-००१ च ९३२९ नम्बरको बोलेरोले तीन जना सवार विपरीत दिशातर्फ गइरहेको मे ३ प ५००१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका तीनै जनालाई बीएण्डसी अस्पताल, विर्तामोडमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।
जीप चालकलाई इलाका प्रहरी कार्यालय, झिलझिलेले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
Post Views: 4