विराटनगर । आइतबार बिहान १०:१० बाट सम्पर्क विच्छेद भइ मुस्ताङको आकाशमा हराएको तारा एअरको ९ एन एईटी जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। जहाज थासाङ–२ को मानापाथी हिमालको फेदमा सानो सरे भन्ने स्थानको पहाडमा भेटिएको थियो । जहाजमा चालक दलका ३ सदस्य, यात्रुहरु दुई जर्मन नागरिक, चार भारतीय र १३ नेपाली थिए।
जहाज आइतबार बिहान ९: ५५ बजे पोखराबाट जोमसोम उडेको थियो। जहाजमा पाइलट प्रभाकर घिमिरे, को पाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा थिए। जहाजमा दुई जर्मन नागरिक वी विलनर र मेइक ग्रिटग्राफ थिए। साथै भारतीय नागरिक बान्देकर वैसवी,अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी र ऋतिका त्रिपाठीसमेत सोही जहाजमा थिए।
जहाजमा नेपाली नागरिक इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ सवार रहेका नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ।
बेपत्ता भएको जहाज समुन्द्री सतहदेखि माथि झन्डै ४ हजार मिटर उचाइमा दुर्घटना भएको थियो। थासाङको मानापाथी हिमालको फेद नजिक याकखर्क भन्ने स्थानमा यार्सा टिप्न गएका ९ जना टोली र लेतेबाट गएका स्थानीय युवा सुमित गौचनको टोलीले सोमबार दुर्घटनाग्रस्त अवस्थामा सवार सबैको मृत्यु भएको अबस्थामा जहाज भेटेका हुन्।
Post Views: 36