विराटनगर । त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले शनिबार राजधानीमा आयोजित नवौं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि जितेका छन् ।
‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित भएको यसपालिको कान्तिपुर हाफ म्याराथन मुकेशले १ घन्टा ६ मिनेट ४५ सेकेन्डमा पूरा गरे ।
थापाथलीबाट सुरु भएको यो दौड माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै थापाथलीमै आएर पूरा भएको थियो ।
प्रतियोगितामा आर्मीकै राजन रोकाय १ घन्टा ७ मिनेट ५५ सेकेन्डमा दूरी पूरा गरेर दोस्रो भए । बागलुङ घर भई भारतीय सेनामा कार्यरत तीर्थ पुनले १ घन्टा ९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भए ।
पुरुषतर्फ आर्मीका खड्काबहादुर खड्काले १ घन्टा ९ मिनेट २९ सेकेन्डमा पूरा गरेर चौथो र गजेन्द्र राईले १ घन्टा १० मिनेट ५२ सेकेन्डमा पूरा गरेर पाँचौ भए । गत वर्ष यो उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जितेका थिए ।
महिलातर्फकी विजेता राजपुराले गत वर्ष पनि यो उपाधि जितेकी थिइन् । उनले १ घन्टा १९ मिनेट १६ सेकेन्डमा दौड पूरा गरिन्, गत वर्ष भने उनले १ घन्टा १९ मिनेट ६ सेकेन्डमा पूरा गरेकी थिइन् ।
पुलिसकै राममाया बुढाले १ घन्टा २३ मिनेट ०७ सेकेन्डमा पूरा गर्दै दोस्रो, एपीएफकी पुष्पा भण्डारीले १ घन्टा २४ मिनेट ३१ सेकेन्डमा पूरा गरेर तेस्रो, पूर्णराज्य लक्ष्मी न्यौपानेले १ घन्टा २६ मिनेट २३ सेकेन्डमा पूरा गरेर चौथो र गीता बिकले १ घन्टा २९ मिनेट ३६ सेकेन्डमा पूरा गरेर पाँचौ भए ।
हाफ म्याराथनमा पुरुष र महिला दुवैका विजेताले जनही १ लाख पुरस्कार पाए । दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौं हुनेले ५ हजार पाएका छन् ।