विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ ।
रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो ।
सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र इटहरी उपमहानगरपालिका-५, सुनसरीका ४० वर्षीय श्यामप्रसाद निरौलालाई गोली हानेर नियन्त्रणमा लिइएको हो ।
बिहीबार साँझ लागुऔषध ब्राउनसुगरको ओसारपसार भइरहेको सूचना प्रहरीले पाएको थियो । सोपछि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, काठमाडौं र इलाका प्रहरी कार्यालय पकली, सुनसरीबाट संयुक्त रूपमा प्रहरी टोली खटिएको थियो ।
लागुऔषध कारोबारीलाई चेकजाँच गर्दा प्रहरीमाथि नै आक्रमण गरेपश्चात प्रहरीले प्रतिकारस्वरूप १ राउण्ड गोली प्रहार गरेको थियो । खंग पिडुँलामा गोली लागेर घाइते भएका थिए ।
लागुऔषध ओसारपसारमा संलग्न दुवै जनालाई २१० ग्राम ७३० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको हो ।
गोली लागी घाइते भएका खंगको सान्वी सिटी अस्पताल, लविपुरमा प्रहरीको निग्रानीमा उपचार भइरहेको र घटना
सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।
Post Views: 507