विराटनगर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार भारतको मध्यप्रदेशस्थित इन्दौरमा रहेको फोहोर व्यवस्थापन केन्द्रको अवलोकन गरेका छन् ।
यस क्रममा इन्दौर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहोर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराएका थिए । उनले स्रोतबाट नै छ भागमा विभाजन गरेर फोहोरको व्यवस्थापन हुँदै आएको बताए ।
कुल एक अर्ब ५० करोड भारतीय रुपैयाँ लगानी रहेको सो केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको छ । केन्द्रमा फोहोर व्यवस्थापनका लागि मासिक एक करोड १५ लाख भारतीय रुपैयाँ खर्च हुँदै आएको प्रमुख कार्यकारी अधिृकत सिंहले जानकारी दिए ।
सो केन्द्रले फोहोरलाई व्यस्थित गरेर आम्दानीसमेत गर्दै आएको छ । केन्द्रले मासिक तीन करोड ७५ लाख भारतीय रुपैयाँ आम्दानी गर्ने उनको भनाइ छ । उक्त प्लान्टबाट ग्याससमेत उत्पादन हुँदै आएको छ । ती ग्यास इन्दौर सहरमा चल्ने सवारी साधानमा प्रयोग गरिँदै आइएको छ ।
केन्द्रको अवलोकनपछि प्रधानमन्त्री दाहालले नेपालबाट प्राविधिकहरु पठाइ फोहोर व्यवस्थापनको सफल अभ्यासको अध्ययन गर्न लगाउने पनि बताएका थिए ।
स्वच्छ भारत अभियानअन्तर्गत इन्दौर नगर निगमले फोहोर व्यवस्थापनमा गरेको काम विश्वमै नमूनायोग्य मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू निर्वाचित भएपछि स्वच्छ भारत अभियान सुरु गरेका थिए ।
प्रधानमन्त्री दाहाल केन्द्रको अवलोकन गर्न शुक्रबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट मध्यप्रदेशको इन्दौर पुगेका हुन् । इन्दौर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए । दाहालले शुक्रबार नै इन्दौरको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजासमेत गरेका थिए ।