विराटनगर । काँकडभिट्टामा भारु नोट सटहीमा समस्या देखिएको छ । भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो ।
एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो । त्यसलगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको छ भने यातायात तथा पेट्रोलियम व्यवसायीले भारु नोटमा भुक्तानी लिन छाडेका छन् ।
पूर्वमेची बस व्यवसायी प्रा.लिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले काँकडभिट्टामा भारुको कारोबार हुन छाडेको र मनी एक्सचेञ्जरले पनि भारु साट्दा अतिरिक्त कमिसन असुल्न थालेको बताए। उनले भारु एक लाख सटही गर्दा रु चार हजार कमिसन दिनुपरेको दावी गरे।
काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज, केचना, बाहुनडाँगीलगायतका सीमानाका र बजारमा विगतमा जस्तो भारुमा लेनदेन हुन छाडेको छ । नेपाली व्यवसायीले सेवा तथा वस्तुको भुक्तानी लिँदा र दिँदा भारु नोट लिन छाडेका छन् ।
भारतबाट लुकीछिपी ठूलो मात्रामा भारुका नोट नेपाल भित्रिएको र नेपाली बजार चर्को आर्थिकमन्दीको मारमा रहेको कारण बिक्री घट्दा बजारमा भारुको सटहीमा समस्या उत्पन्न भएको सटहीको अनुमति प्राप्त मनी एक्सचेन्जर व्यवसायी बताउँछन् ।