विराटनगर / २०९ औ भानु जयन्तीको अवसरमा विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा कविता प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयका ४० विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा गुरु दक्षिणा शीर्षकको कविता वाचन गर्दै उजागर नेपाल प्रथम हुनुभएको छ । यस्तै विचार शीर्षकको कविता वाचन गर्नुभएका पुष्पराज तिम्सिना द्वितीय र ओजस्वी कर्ण तृतिय हुनुभएको छ । प्रतियोगिताका विजयीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि युवा साहित्यकार मीनकुमार नवोदित र विद्यालयका प्राचार्य टीकाराम पुरीले प्रमाणपत्र र नगद प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्दै कवि तथा पत्रकार मीनकुमार नवोदितले एभरेष्टका विद्यार्थीहरुको चौतर्फी विकासका निम्ति बनाएको वातावरणको प्रशंशा गर्दै कला र साहित्य सधैं जीवन्त रहने चर्चा गर्नुभयो । उहाँले कला र साहित्य सधैं अमर रहने भन्दै सबै पेशा व्यवसाय पूर्व हुने तर कला साहित्य पूर्व नहुने बताउनुभयो । विद्यालयका प्रिन्सिपल पुरीले विद्यार्थीको सर्वाङ्गिण विकासका निम्ति सबै किसिमको वातावरण तयार गर्दै लगेको भन्दै विद्यार्थीले पनि अध्ययनको साथ साथै आ–आफ्नो रुचिअनुसारका कृयाकलापमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालयका सहप्राचार्य टीएन भण्डारीले छोटो समयमा विद्यार्थीले जनाएको सक्रिय सहभागिताको प्रशंशा गर्दै, जे गर्दा पनि अब्बल बन्ने गरी लाग्न सुझाव दिनुभयो । खुल्ला रुपमा गरिएको प्रतियोगितामा विद्यार्थीहरुले विभिन्न शीर्षकका कविता वाचन गरेका थिए । ती मध्ये उत्कृष्ट तीन छनौट गर्न कवि माधव खतिवडा र खम्बसिंह नेपालले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
Post Views: 1