विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरस्थित महानगर बहुप्राविधिक शिक्षालयले आयोजना गरेको आन्तरिक खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरेका छन् । आज महानगरपालिकामा आयोजित कार्यक्रममा मेयर कोइरालासहित प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र शिक्षालयका प्राचार्य परिवेश पराजुलीले विजेता खेलाडीहरुलाई अबिर लगाएर मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरेका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरु अब्बल हुनुपर्नेमा जोड दिऐ । मेयर कोइरालाले खेलकुदले मानिसलाई अनुशासित बनाउने बताए । उनले शारीरिक, मानसिक विकाससँगै खेलकुदले अनुशासित जीवन बिताउन मद्दत पुग्ने धारणा राखेका थिए । महानगर बहुप्राविधिक शिक्षालय महानगरपालिकाको गौरवको योजना भएको बताउँदै मेयर कोइरालाले शिक्षालयमा विद्यार्थीको आकर्षण बढाउनुपर्नेमा जोड दिएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले शिक्षालयले अध्ययन गरेका विद्यार्थी अब्बल र जहाँसुकै गएर पनि प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने बताएका छन् । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिक्षालयको प्रचारप्रसार गरी देशभरका विद्यार्थीलाई आकर्षित गर्नुपर्नेमा जोड दिएका थिए । हाल सिभिल इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र जियोमेटिक इन्जिनियरिङ अध्ययन भइरहेको शिक्षालयमा थप तीन–चार वटा विषय अध्ययनका लागि तयारी भइरहेको संयोजक पोखरेलले जानकारी दिए ।
Post Views: 0