विराटनगर । मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । कोशी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानामा समेत वर्षा भइरहेको छ ।
आज दिउँसो पनि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशका केही स्थानमा समेत वर्षा भइरहेको छ ।
आज राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।
अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ ।
बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर–२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन । प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ ।
Post Views: 232