तनहुँ –तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयका शिक्षकले प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै स्वागत गर्न सुरुआत गरेका छन्।
शिक्षक, अभिभावक, आफूभन्दा ठूला, साना सबैले एक अर्कालाई सम्मान गर्नुपर्छ भन्ने भावना लोप हुन लागेकाले सिकाइका निम्ति प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्न सुरु गरिएको व्यवस्थापन समितिका अध्यक्ष विकास रिजालले जानकारी दिए। उनले भने, “हामीभन्दा ठूला मान्छेले नै सिकाएको हुँदा हामीले नमस्कार गर्नुपर्छ भनेर विद्यार्थीले सिक्ने हुँदा अभियान चलाएका हौँ।”
विद्यार्थीलाई बानी पार्ने र नमस्कार गर्ने एउटा शिष्टाचार हो भन्ने शिक्षा बुझाउन सजिलो भएको विद्यालयले जनाएको छ। वार्षिक परीक्षामा विद्यार्थी पास भए पनि जीवनको परीक्षामा असफल भइरहेकाले संस्कारयुक्त शिक्षा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालाले बताए।
शिक्षकका अतिरिक्त व्यवस्थापन समितिका अध्यक्ष र सदस्य पालो लगाएर हरेक दिन बिहान ९ः३० बजे नै विद्यालयको प्रवेशद्वारमा आएर नमस्कार गर्न खटिने गरेका छन्। संसार बदल्ने हो भने पहिला आफू बदल्नुपर्छ भन्ने हेतुले शिक्षकले नै नमस्कार गरेर सुरुआत गरेको सहायक प्रधानाध्यापक घनश्याम गौतमले बताए।
Post Views: 4