विराटनगर । अनलाइनमार्फत जुवा खेल्नेहरुसँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सहित ४ जना प्रहरीलाई अनुसन्धान एवं छानबिनमा प्रदेश प्रहरी कार्यालय विराटनगर तानिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत हवल्दार खगेन्द्र राउतलाई कारबाहीको दायरामा ल्याइएको हो ।
घुमुवा प्रहरीका रूपमा खटिँदै आएका चारै जनालाई बिहीबार राति मोरङको सुन्दरहरैँचास्थित विराट चोकबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।अनलाइन जुवा खेल्ने र खेलाउनेसँग २० लाख रूपैयाँभन्दा बढी रकम लिएको आरोप उनीहरुमाथि लागेको छ । अनलाइन जुवाको ‘सेटिङ’ गर्ने र गराइदिनेबाट लिएको रकमसमेत बरामद भएको जानकारी प्रहरी स्रोतले बताएको छ ।
इन्स्पेक्टर भट्टराईलाई निलम्बनको तयारी गरिएको छ भने स्रोतका अनुसार ४ जना प्रहरीसहित केही व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिइएको थियो ।
नियन्त्रणमा लिइएकाहरुलाई बिहीबार राति कोशी प्रदेश प्रहरी गण रानीमा राखिएको छ । अहिले प्रदेश प्रहरी कार्यालय विराटनगरमा राखेर सोधपुछ भइरहेको स्रोतको भनाइ छ । ‘अनलाइनमार्फत जुवा खेल्नेहरुसँग पैसा लिँदै गर्दा नियन्त्रणमा लिइएको हो ।
प्रहरीले भने यसको पुष्टि गरेको छैन । प्रहरी अधिकारीहरुले पनि यस घटनालाई गोप्य राख्न चाहेका छन् । सार्वजनिक गर्न नचाहेका कारण यस प्रकरणमा उनीहरुको भूमिका नै शंकास्पद देखिएको छ । गम्भीर विवादमा परेका प्रहरीलाई जोगाउनका लागि कतै चलखेल त भइरहेको छैन रु भन्ने प्रश्न उठेको छ ।
प्रदेश प्रहरीका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले इन्स्पेक्टरसहितका प्रहरीलाई कारबाहीको दायरामा ल्याइएको विषयमा आफूलाई केही जानकारी नभएको बताए । तर, नियन्त्रणमा लिएको भनिएका प्रहरीमाथि उनकै नेतृत्वमा छानबिन एवं अनुसन्धान भइरहेको स्रोतले बताएको छ ।
यस विषयमा बुझ्न खोज्दा प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले आफू कार्यक्रममा रहेको बताए । प्रवक्तासँग बुझ्न उनले आग्रह गरे ।
Post Views: 192