विराटनगर, २४ कात्तिक । प्रदेश १ को आन्तरिक तथा कानुन मन्त्रालयले प्रदेश भित्रका १४ वटै जिल्लामा हुन सक्ने सम्भावित विपद्जन्य जोखिम क्षेत्रको ‘म्यापिङ’ गर्ने भएको छ । प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत रहेको विपद् कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो ।
त्यसैगरी समितिको बैठकले गत कात्तिक २ गतेको अविरल वर्षा र बाढी पहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गर्दै त्यसलाई सम्बोधन गर्ने निर्णय गरेको छ ।
बैठकले वर्षा र त्यसपछिको डुबान, कटान अनि पहिरोबाट भएको क्षतिको विषयमा समग्र समीक्षा गर्दै पाँचथरको मिक्लाजुङ जोड्ने सडक सुचारु गर्न समन्वय गर्ने निर्णय गरेको मन्त्रालयलका सचिव कालीप्रसाद पराजुलीले बताउनुभयो ।
उक्त सडक अवरुद्ध हुँदा स्थानीय क्षेत्रमा खाधान्न तथा अन्य दैनिक उपभोग्य सामग्री अभाव भयो भन्ने गुनासो आएकोले सङ्घीय भौतिक पूर्वाधार मन्त्रालय र सडक डिभिजनसँग समन्वय गरेर तत्काल सडक मर्मत गर्दै सुचारु गर्न समन्वय गर्ने निर्णय पनि बैठले गरेको छ ।
त्यस्तै प्रदेशका १४ वटै जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई सम्भावित विपद्का कारण उत्पन्न परिस्थितिमा उद्धारको लागि आवश्यक पर्ने सामग्री आवश्यक भए मन्त्रालयमा माग गरेर पठाउने, बाढी पहिरोबाट भएको भौतिक संरचना आदि क्षतिको भौतिक पूर्धाधार मन्त्रालयबाट एकीकृत विवरण तयार गरी मर्मत गर्नुपर्ने सडकहरु मर्मत गर्ने र पहिरोको दीर्घकालीन समाधान गर्नुपर्ने भए सोसमेत गर्ने निर्णय बैठकले गरेको छ ।
Post Views: 27