विराटनगर / जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायालयको समस्यामा राजनीतिक दलले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै उनले न्यायालयमा अहिले देखिएको समस्या न्यायालयको आफ्नै भएकाले समस्याको निरुपरण न्यायालयले नै गर्नुपर्ने बताए । “न्यायालयमाथि राजनीतिक हस्तक्षेप हुँदा त्यसको नकारात्मक प्रभाव पर्ने भएकाले पनि राजनीतिक हस्तक्षेप गर्नु ठीक होइन,” यादवले भने ।
उनले ५ दलीय गठबन्धन आगामी संसदीय निर्वाचनसम्म एकतावद्ध भएर जाने प्रस्ट्याए । “यो गठबन्धनलाई भत्काउने षड्यन्त्र भइरहेका छन्,” उनले थपे, “तर, आगामी निर्वाचनसम्म यो गठबन्धनलाई कसैले हल्लाउन सक्दैन ।”
प्रधानमन्त्रीको शेरवहादुर देउवाको चाहना पनि गठबन्धनलाई एकताबद्ध बनाएर लैजाने भएकाले त्यसका लागि राजनीतिक संयन्त्र गठन गरिएको उनको भनाइ थियो । उनले संविधान त्रुटिपूर्ण भएकाले अहिले समस्या आएको बताउँदै संविधान संशोधनको विकल्प नभएको उल्लेख गरे ।
Post Views: 26