विराटनगर । नेपाली कांग्रेस मोरङ सभापतिको निर्वाचन प्रदेश राजधानी विराटनगरमा जारी छ ।
मंगलबार १२ बजेदेखि जिल्ला सभापतिको निर्वाचन सुरू भएको हो । विराट नर्सिङ होमपूर्व रहेको खाली जमिनमा निर्वाचन भइरहेको छ । निर्वाचनमा पहिलोचरणमा प्रथम र दोस्रो स्थन हासिल गर्ने डिगबहादुर लिम्बु र दिलीप गच्छदार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
पहिलो चरणमा डिगबहादुर लिम्बू, दिलीप गच्छदार र यदु विष्ट चुनावी मैदानमा उत्रिएका थिए । जसमध्ये विष्ट सभापतिको दौडबाट बाहिरिएका छन् । सभापतिको दौडबाट बाहिरिएपछि विष्टले सभापतिका उम्मेदवार गच्छदारलाई सभापतिको निर्वाचनमा सघाउने घोषणा गरेका छन् । विष्ट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । यस्तै गच्छदारलाई सिटौला पक्षका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रकाशमान सिंह पक्षका नेता राजु मास्केको पनि साथ रहेको छ ।
केन्द्रीय सभापतिका दाबेदार डा. शेखर कोइरालाका उम्मेदवार लिम्बूविरुद्ध पौडेल, सिटौला र सिंह पक्षले घेराबन्दी गरेको छ । तर, पहिलो चरणको निर्वाचनमा गच्छदारलाई धेरै मतअन्तरले पछि पारेका कारण लिम्बूले नै चुनाव जित्ने कोइराला पक्षका नेताहरू दाबी गर्दै आएका छन् ।
अर्कोतर्फ एक कार्यकाल सभापति चलाइसकेका लिम्बूले पार्टीलाई गति दिन नसकेको आरोप लगाउँदै संस्थापन पक्षका नेताहरू भने मोरङ सभापतिमा नयाँ अनुहारले प्राथमिकता पाउने र पहिलोचरणको निर्वाचनमा तेस्रो स्थान प्राप्त गरेका विष्टको पनि समर्थन रहेका कारण विष्टले पाएको मत पनि गच्छदारले पाउने भएकाले गच्छदारले नै चुनाव जित्ने दाबी गर्दै आएका छन् ।
मोरङमा कुल ३ हजार ५ सय ८५ जना मतदाता रहेका छन् । साँझ ५ बजेसम्म मतदान सम्पन्न हुने र आजै मतगणना गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ ।
Post Views: 25