विराटनगर । अजरबैजानको बाकुमा हुन जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि यूएनएफसीसीसीका पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन कोप शुरु भएको छ। कोप नोभेम्बर २२ तारिखसम्म चल्ने छ।
नेपालका तर्फबाट सम्मेलनमा भाग लिन राष्ट्रप्रमुख रामचन्द्र पौडेल आइतबार बाकु प्रस्थान गरिसकेका छन्। १९२ मुलुकका राष्ट्रप्रमुखदेखि उच्चपदस्थ अधिकारीसामु नेपालले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरका कारण बढेको जोखिमका उदाहरण प्रस्तुत गर्नेछन्।
जलवायुजन्य परिस्थितिले सिर्जना गरेका विपद्जन्य घटनाका विभिन्न उदाहरण कोपमा प्रस्तुत गर्ने बताउँछन्, वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. सिन्धुप्रसाद ढुङ्गाना। ‘बेमौसमी विपद्, थामेको हिमपहिरो, विपद्जन्य घटना हामी कोपमा प्रस्ततु गर्नेछौँ’, उनले भने, ‘यी उदाहरणहरु दिँदै जलवायुजन्य हानि नोक्सानीका लागि वित्तीय पहुँचका लागि पैरवी गर्नेछौँ।’