विराटनगर ÷ मोरङको केराबारीमा कुटपिटमा परेर एक जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुने सुनसरीको धरान उपमहानगरपालिका–६ पानमाराका २० वर्षीय अनिश कटुवाल भएको प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले केराबारी गाउँपालिका–६ को मुगुमा एक जना युवक मृत फेला परेको जानकारी दिए । मृतक कटुवाललाई बिहीबार चार–पाँच जनाको संख्यामा रहेका युवाहरूले दिउँसो मोबाइल चोरीको आरोपमा कुटपिट गरेर छाडेका थिए ।
शुक्रबार केराबारी–६ का खेम लिम्बूको घरभित्र उनी मृत भेटिएका थिए । कुटपिटपछि कटुवाल कोठाभित्रबाट चुक्कुल लगाएर सुतेको र नउठेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । शुक्रबार दिउँसो १ बजेतिर घटनास्थल पुगेको प्रहरीले चुक्कुल फुटाएर हेर्दा मुख र नाकबाट रगत बगिरहेको अवस्थामा ओछ्यानमै शव भेटिएको जनाएको छ ।
मृतक अनिश र उनका साथी धरान पानमाराकै २० वर्षीय विशाल विश्वकर्मामाथि मोबाइल चोरीको आरोप लगाएर बिहीबार दिउँसो ४ बजेतिर युवाहरूले केराबारीको मुगु पुलनजिक कुटपिट गरेको प्रहरीले बताएको छ । मृतक कटुवालको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ ।
Post Views: 33